दीपक थपलिया
गएका केही दिनहरू हामी सबैका लागि निकै कठिन रहे । मुलुकमा ब्याप्त भ्रष्टाचार, अनियमितता, राजस्वको दुरुपयोग जस्ता विषयमा प्रश्न उठाउँदै ‘जेनेरेशन जेड’ले शान्तिपूर्ण प्रदर्शन गरेर सरकार र राजनीतिक दललाई दबाब दिने कार्यक्रम राख्दा सबैले समर्थन गरेका थिए । तर, शन्तिपूर्ण हुन्छ भन्ने अपेक्षा गरिएको प्रदर्शन विध्वङ्शात्मक बन्न पुग्यो ।
आँखै अगाडी हाम्रा सम्पत्ति आगोमा जले, नासिए । यो देख्दा असैह्य पीडा हुने नै भयो । तर साँच्चिकै हृदय छुने कुरा भनेको ती परिवारमाथि परेको बज्रपात हो, जसले भविष्यको आशा राखेका थिए । सुन्दर भविष्यको खोजीमा रहेका ति कलिला युवाहरु कहिल्यै नउठ्ने गरी ढले । यो मर्मस्पर्शी मात्रै होइन, हृदयविदारक दृश्य थियो ।
अब ती आशाहरू हल्लिएका छन् । परिवार विक्षिप्त बनेको छ । नेपालको इतिहास र गौरवका प्रतीकका रुपमा कयौँ धरोहरहरु पनि खरानी बनेका छन् । हाम्रो मुलुकले करिब ३६ घण्टामा यो तहको विनाश भोग्नुप¥यो, जुन कल्पना भन्दा निकै बाहिरको क्षति थियो ।
हो, यसबाट हामी पनि प्रभावित भयौं । हाम्रा सम्पत्ति, पूर्वाधार र योजनाहरू सबै प्रभावित भए । तर जिम्मेवारी भन्ने चीज यस्तो रहेछ, जुन पीडाभन्दा पहिले आउँदो रहेछ । आन्दोलनका बीचमा पनि मोबिलिटी आवश्यक थियो, र हाम्रो टोलीले अनवरत काम गर्यो । सवारी साधनलाई फेरि सडकमा ल्याउने, थप क्षति रोक्ने र ग्राहकहरूलाई सकेसम्म सहयोग गर्ने काममा हाम्रो टिम तैनाथ भयो । यी अनुभवहरूले हामीलाई सम्झाउँछन् कि हुन्डाइले सँधै केका लागि काम गरेको छ ? निश्चय पनि हामीले सधैँ सबैभन्दा कठिन समयमा पनि आम मानिससँग उभिने संकल्प गरेका छौँ, जुन सामान्य अवस्थामा मात्रै होइन, हरेक विपत्तिमा पनि हामीले पूरा गर्दै आएका छौँ ।
यो समय आफैंलाई मूल्याङ्कन गर्ने र अगाडि बढ्ने समय हो । विगतका गल्तीहरूबाट सिक्ने, प्रविधिलाई अँगाल्ने र आत्मनिर्भरतातर्फ कदम बढाउने बेला पनि हो । समय सधैँ महत्वपूर्ण नै हुन्छ तर, अहिलेको समय पहिलेभन्दा बढी महत्वपूर्ण छ । यसर्थ, “नेपालमा बनेको” भन्ने अब विचार मात्रै होइन, यो भविष्य निर्माण गर्नेतर्फको महत्वपूर्ण कदम हो, जसमा हामी सबै गर्व गर्न सक्छौं ।
सुरूदेखि नै हुन्डाइ नेपालले परिवारमा विश्वास गरेको छ । आज यो परिवार अझ बलियो र नजिक भएको छ । नेपालको दृढ र आत्मविश्वासी मनोबलसँग हातेमालो गर्दै हामी पनि सँगसँगै मिलेर निर्माण र विकासमा हातेमालो गर्दै अघि बढ्नेछौं ।













