राजस्वको सदुपयोग हुनुपर्ने, भ्रष्टाचार रोक्नुपर्ने, रोजगारीको अवसर सिर्जना हुनुपर्ने जस्ता माग राखेर जेनजी पुस्ता भदौ २३ गते आन्दोलनमा उत्रिँदा नयाँ पुस्ताले समाजप्रति जिम्मेवारी बोध गरेको देखेर हामी खुशी भएका थियौँ । उनीहरुले उठाएका माग जायज थिए । तर, अप्रत्याशित र अस्वभाविक रुपमा भदौ २४ गते आन्दोलनमा घुसपैठ हुँदा व्यक्तिगत सम्पत्ति र निजी क्षेत्रमाथि आक्रमण भयो । यो नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि अत्यन्तै दुःखद कुरा हो ।
हरेक १०/१० वर्षमा मुलुकमा उथलपुथल भइरहने अवस्थाले हामीलाई छोडेन । २०६२/०६३ को आन्दोलन पश्चात मुलुक स्थिरतातर्फ अघि बढ्छ भन्ने थियो । तर, संविधान बनाउनै १० वर्ष लाग्यो । त्यसपछि राज्यको प्रमुख मुद्दा नै अर्थतन्त्रको विकास भन्ने भयो । यसमा निजी क्षेत्र पनि खुशी थियो । अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रलाई पनि साथमै लिएर हिड्नुपर्छ भनेर सरकारलाई भनेका थियौँ ।
तर, लगत्तै मुलुक महाभूकम्पले थिलथिलो बन्यो । त्यसबाट तङ्ग्रिएर एउटा लय समात्ने बेलामा विश्वब्यापी रुपमा कोभिड महामारी फैलियो । नेपाली अर्थतन्त्र पनि त्यसको शिकार बन्यो । यसबाट क्रमशः सुधार हुँदै गएको अर्थतन्त्रमा अहिले फेरि अर्को बज्रपात आइपरेको छ ।
सार्वजनिक सम्पत्तिहरुमाथि तोडफोड र आगो लगाइएको छ । सिंहदरबार केवल मुलुकको प्रशासनिक केन्द्र मात्रै थिएन, हाम्रो प्राचीन सभ्यता पनि थियो । त्यो नासियो । नेपाली जनता र व्यवसायीले थोपा थोपा रगत र पसिना बगाएर तिरेको कर र राजस्वबाट बनाइएका सिंहदरबार, राष्ट्रपति कार्यालय र सर्वोच्च अदालत जस्ता महत्वपूर्ण संरचनाहरु ध्वस्त भएका छन् ।
सँगै, व्यक्तिगत सम्पत्ति, रोजगारदाता उद्योगी व्यवसायी एवम् र सिङ्गो निजी क्षेत्रमाथि अन्धाधुन्ध आक्रमण हुँदा नेपालको आर्थिक स्थायित्व नै डगमगाएको छ । हल्लिएको छ । जेनजीको प्रदर्शनमा घुसपैठ हुँदा मुलुकले ठूलो क्षति ब्यहोर्नुपर्यो ।
मैले माथि पनि भनेँ, युवा पुस्ताका मागहरु जायज थिए । तर, उनीहरुका नाममा घुसपैठ गरेर सार्वजनिक सम्पत्ति र निजी क्षेत्रमाथि आक्रमण, तोडफोड र आगजानी गर्नेहरुलाई पहिचान गरेर कानूनी दायरामा ल्याउनुपर्छ । जेनजी आन्दोलनका अगुवाहरुले नै घुसपैठ भएको बताइसकेका छन्, यसको छानबिन हुनुपर्छ, दोषीले सजाय पाउनुपर्दछ ।
निश्चय पनि, राजनीतिक दलका शीर्ष नेताहरुप्रति युवा पुस्तामा चरम वितृष्णा थियो । पटकपटक देशको नेतृत्व गरिसकेका नेताहरुले स्वतःस्फूर्त रुपमा ‘रिटायरमेन्ट’ लिउन् भन्ने आम जनताको चाहना थियो । तर, उहाँहरुले सधैँ मपाईंत्व गरिरहनु भयो, जसका कारण राजनीति नै बिकृत बन्यो । विज्ञहरुका सल्लाह र सुझाव सुनिएन । न दिएका सुझावलाई ग्रहण नै गरिए । जसका कारण देशमा आजको स्थिति पैदा भएको छ ।
नेपालको निजी क्षेत्र सधैँ आशावादी रहँदै आएको छ । यसपटक पनि हामी हल्लिएका पक्कै छौँ, तर ढलेका छैनौँ । हामी भाँचिएका छैनौँ । निजी क्षेत्र राष्ट्र सेवाप्रति समर्पित छ, अझै दरिलो भएर अघि बढ्न तयार छ । निजी क्षेत्र सदैव लगानी विस्तार गर्न र रोजगारी सिर्जना गर्न तयार छ । केवल सरकारले त्यसका निम्ती वातावरण बनाइदिनुपर्दछ ।
नयाँ सरकारले निजी क्षेत्रलाई महत्वका साथ काम गर्ने, लगानी गर्ने, रोजगारी सिर्जना गर्ने अवसर प्रदान गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ । यसका लागि सबै पक्षको राय, सल्लाह र सुझाव लिएर नवगठित सरकार अघि बढ्नुपर्दछ ।
(लेखक राजेन्द्र मल्ल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष पनि हुन् ।)













