श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ११ गतेदेखि आयोजना प्रभावित रुपन्देही र पाल्पा जिल्लाका स्थानीयलाई आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले स्थानीयलाई १ लाख ६३ हजार १ सय २५ कित्ता शेयर निष्काशन गरेको छ। यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९ हजार ९ सय ३८ कित्ता शेयर निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डले साउन १३ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसंगै कम्पनीले कुल ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने छ।
कम्पनीले कुखुराको चल्ला र अण्डा उत्पादन गर्दै आएको छ। त्यस्तै, कुखुराको लागि सुनौलो प्लेट दाना, माछा र बंगुरलाई आवश्यक पर्ने दाना पनि उत्पादन गर्दै आएको छ। कम्पनीले कृषकलाई कृषि सम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ भने किसानले उत्पादन गरेका सामग्रीहरु खरिद गरेर बजारसम्म पुयाउँदै पनि आएको छ ।
कम्पनीको ठूला शेयरधनीमा सतिश चन्द श्रेष्ठ, चन्द्र पंकज डेभलपर्स प्रालि र मौसमी श्रेष्ठ रहेका छन् ।












