खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैँका लागि खसि, बोका र च्याङ्ग्राको अग्रिम बुकिङ खुला गरेको छ । खाद्यले आज (भदौ १७)देखि खसी, बोका र च्याङ्ग्राको अग्रिम बुकिङ खुला गरेको हो ।
अनलाइन फाराम भरेर तोकिएको अग्रिम रकम बुझाएपछि बुकिङ मान्य हुनेछ । बुकिङको कोड नम्बर खसी, बोका तथा च्याङ्ग्रा संकलनको समयमा अनिवार्य रुपमा देखाउनु पर्नेछ ।
कम्पनीले उपभोक्ताको माग बमोजिम वस्तु उपलब्ध गराउन नसकेको अवस्थामा बाहेक अन्य अवस्थामा अग्रिम भुक्तानी वापतको रकम फिर्ता नहुने पनि खाद्यले जनाएको छ । अर्डर गरेका उपभोक्ताले कम्पनीको बिक्री केन्द्रमा गएर खसी, बोका तथा च्याङ्ग्रा छनौट गरेपश्चात त्यसको पर्न आउने कूल मोलमा अग्रिम भुक्तानी बापतको रकम घटाई बाँकी रकम भुक्तानी गर्नुपर्ने छ ।
मूल्य कम्पनीले निर्धारण गरेको प्रति के.जी. दर अनुसार हुने र अन्तिम मूल्य वास्तविक तौलानुसार निर्धारण हुने खाद्यले जनाएको छ । अग्रिम बुकिङ गर्दा इसेवा र खल्तीमार्फत शुल्क भूक्तानी गर्न सकिनेछ ।
कम्पनीको बागमती प्रादेशिक कार्यालय, थापाथलीबाट मात्र खसी, बोका तथा च्याङ्ग्राहरू बिक्री हुनेछ । यदि, बुकिङ गरेको खसी, बोका तथा च्याङ्ग्रा समयमै लिन नआई पछि दाबी गर्न आएमा अग्रिम भुक्तानी बापतको रकम फिर्ता नहुने पनि खाद्यले स्पष्ट पारेको छ ।
कम्पनीले उपलब्ध गराउने खसी बोका तथा च्याङ्ग्राहरू स्वास्थ्य र मापदण्ड अनुरूपका हुने तर विशेष जात वा रंगको सुनिश्चितता भने गर्न नसकिने जनाइएको छ ।













