विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने भएका हुन् ।
आन्दोलनका कार्यक्रमअन्तर्गत पहिलो चरणको आन्दोलन सकिएसँगै उनीहरुले भदौ १८ गतेबाट विद्यालय अनिश्चितकालसम्मका लागि बन्द गर्ने गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
यस्ता छन् दोस्रो चरणका आन्दोलनका कार्यक्रमः
१) मिति २०८२ भाद्र १२ गते बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा गर्ने । उपत्यकाको हकमा माइतीघरमण्डलामा भेला भई र्याली हुँदै कोण सभामा परिणत हुने ।
२) मिति २०८२ भाद्र १४ र १५ गतेको आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी बैठक गर्ने ।
३) मिति २०८२ भाद्र १६ गते विहान ११ बजे देशैभरिका स्कूलबसहरूमा कालोझण्डा (व्यानर) सहित विद्यालयको पायक पर्ने चोकमा उतारी नगर परिक्रममा गर्ने । काठमाडौं उपत्यकाको हकमा २७ किमी चक्रपथ वरिपरि तथा जिल्लाहरूमा प्रतिघण्टा २० किमीको गतिमा भव्य र्याली गर्ने । उक्त यात्रामा सबै संगठनका केन्द्रीय प्रदेश जिल्ला र पालिकाका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा सबै विद्यालय सञ्चालक, प्रिन्सिपलज्यूहरूको अनिवार्य उपस्थिति हुनुपर्नेछ ।
४) मिति २०८२ भाद्र १७ गते आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी तथा समीक्षा बैठक गर्ने ।
५) मिति २०८२ भाद्र १८ गते बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा गर्ने । उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई र्याली हुँदै कोण सभामा परिणत हुने ।
६) मिति २०८२ भाद्र १८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने ।













