गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ अर्ब ३१ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा २०१.९७ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४३ करोड ३९ लाख मात्रै थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९.९१ प्रतिशतले बढेर ३ अर्ब ६४ करोड कायम भएको छ। यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको रकम १ अर्ब ७१ करोडबाट घटेर ५३ करोड ७९ लाखमा सिमित भएको छ । खुद ब्याज आम्दानी बढेको तथा इम्पेयरमेन्ट चार्ज घटेको कारण बैंकको नाफा बढेको देखिन्छ। कम्पनीको संचालन नाफा १९५.५८ प्रतिशतले बढेर १ अर्ब ८९ करोड कायम भएको छ ।
यस अवधिमा कम्पनीको वितरणयोय मुनाफा ७१ करोड ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर आम्दानी १२.५९ रुपैयाँ रहेको छ, यसले कम्पनीको लाभांश क्षमता १२.५९ प्रतिशत रहेको देखाउछ । यद्यपि बैंकले दिने लाभांश भने विभिन्न नियमकीय व्यवस्था र निर्दशनमा भर पर्छ।
कम्पनीको चुक्ता पुंजी ५ अर्ब ६८ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा २ अर्ब ९४ करोड रहेको छ। कम्पनीले यस अवधिसम्ममा ९० अर्ब ११ करोड निक्षेप संकलन गरेको छ भने ६९ अर्ब ३१ करोड कर्जा लगानी गरेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २३.०७ रुपैयाँ रहेको छ भने कम्पनीको प्रति शेयर नेटवर्थ १६४.१७ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ४.७२ प्रतिशत रहेको छ।












