झापा इनर्जी लिमिटेडले आयोजना प्रभावितलाई निष्काशन गरेको आइपीओमा आवेदन दिने आज साउन २८ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन १४ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले आयोजना प्रभावित झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का स्थानीयलाई ३ लाख ८० हजार १ सय ९० कित्ता शेयर निष्काशन गरेको हो। यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५७ हजार २९ कित्ता शेयर निष्काशन गरिसकेको छ। यी दुवै शेयर बाँडफाँड भएपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।
धितोपत्र बोर्डले असार ३१ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले ९ करोड ५० लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको ९ लाख ५० हजार ४ सय ७५ कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले झापामा १० मेगावाट क्षमताको सोलार आयोजना निर्माण सम्पन्न गरि २०८० माघ १० गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।









