सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य मात्रामा बढेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०८.४४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै कम्पनीको खुद नाफामा पनि भारी वृद्धि भएको हो । लघुवित्तको खुद ब्याज आम्दानी ४१.३० प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १६.१५ प्रतिशत घटेको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी पनि २९.४८ प्रतिशत र सञ्चालन मुनाफा २५०.५३ प्रतिशतले बढेको छ ।
लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ९७ लाख रुपैयाँबाट बढेर ९ करोड १० लाख रुपैयाँ पुगेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २९ रुपेयाँ ८० पैसा बढेर ४४ रुपैयाँ ९ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ २७७ रुपैयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात ४०.२८ गुणा रहेको छ।
२६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ सञ्चित छ । पछिल्लो १ वर्षमा लघुवित्तको निक्षेप तथा सापटी १०.४९ प्रतिशत र कर्जा ४.९६ प्रतिशत बढेको विवरण उल्लेख छ ।












