गत असोजको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको आपतकालिन पुनःस्थापना गर्न जापान सरकारले २.८ अर्ब जापानी येन सहयोग गर्ने भएको छ । साउन १२ गतेको मन्त्रिपरिषद बैठकले जापान सरकारले दिने उक्त अनुदान सहायात स्वीकार गर्ने निर्णय गरेको हो ।
जापान सहयोग नियोग (जाइका)ले निर्माण गरिदिएको उक्त राजमार्गको करिब १३ किलोमिटर खण्ड गत असोजको बाढीले क्षतिग्रस्त बनेको थियो । निर्माण सम्पन्न गरेर हस्तान्तरण भएको १० वर्ष नाघिसकेको हुनाले नेपाल सरकारले क्षति भएको सबै खण्ड मर्मत तथा नवनिर्माण गर्न जापान सरकारलाई अनुरोध गर्न सकेको थिएन ।
तर, केही खण्ड मर्मतमा सहयोग गर्ने जापानको प्रतिवद्धता थियो । सोही अनुरुप २.८ अर्ब जापानी येन अर्थात करिब ३ अर्ब नेपाली रुपैयाँ अनुदान दिने भएको हो ।









