नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित हुने बताएका छन् ।
नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले मंगलबार काठमाडौँमा आयोजना गरेको देशको वित्तीय तथा मौद्रिक स्थिती विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बाफिया संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित हुने बताएका हुन् । उनले ऐनमा संशोधनको प्रस्ताव अनुसार जस्ताको त्यस्तै पारित भएमा आर्थिक गतिविधि नै प्रभावित बन्ने बताए । बाफियासँग सम्बन्धि ऐन संशोधन गर्न प्रस्तावित विधेयकमा बैंकर र उद्योगी छुट्याउने प्रस्ताव गरिएको अवस्थामा यो विषयलाई गम्भीर रुपमा लिनुपर्ने उनको धारणा थियो ।
“व्यवसायी र बैंकर छुट्याउने भन्ने जुन विषय छ । यसले अर्थतन्त्रमा समस्या पार्न सक्छ । एकातिर प्रमोटरलाई उत्तरदायी बनाउने भन्दै ५१ प्रतिशत शेयर संस्थापकलाई दिने भनिएको छ । यसबाहेक, सम्बद्ध पक्ष भनेर परिभाषित गरिएको छ । यो व्यवस्थाअनुसार १ प्रतिशतभन्दा बढी शेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने हो भने सबैजसो उद्योगधन्दा व्यवसाय बन्द हुने जोखिम छन्” अध्यक्ष ढकालले भने ।













