सिन्धु विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा २८७.६० प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३ करोड ४ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३०.१४ प्रतिशतले घटेर १३ करोड ३७ लाख कायम भएको छ। कम्पनीको संचालन आम्दानी पनि ३०.४९ प्रतिशतले घटेर १५ करोड ६ लाख कायम भएको छ। तर कम्पनीको संचालन नाफा भने ४१७.३९ प्रतिशतले बढेर १५ करोड ३५ लाख पुगेको छ ।
कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज रिभर्स भएको कारण खुद ब्याज र संचालन आम्दानी घट्दा पनि खुद नाफा भने बढेको देखिन्छ । यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको १७ करोड ९० लाख रुपैयाँ रिभर्स भएको देखिन्छ । नाफा बढेपनि कम्पनीको वितरणयोग्य मुनाफा भने २० करोड ७५ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
५५ करोड ७४ लाख चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा १३ करोड ३४ लाख रहेको छ। यस अवधि कम्पनीले ५ अर्ब ६८ करोड निक्षेप संकलन गरेको छ भने ३ अर्ब २५ करोड कर्जा प्रवाह गरेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५.४६ रुपैयाँबाट बढेर २१.१५ रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ ८६.७ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ६.०३ प्रतिशत रहेको छ।












