बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले आज असार ३० गते राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेल समक्ष प्रतिवेदन बुझाएको हो ।
कार्यदलले यस अघि असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाएको थियो। कार्यदलको सदस्यमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल थिए भने राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिव थिए ।
कार्यदललाई निम्न विषयमा सुझाव दिने जिम्मेवारी थियो ।
१. बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा ।
२. आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा ।
३. ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा ।
४. बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका (merger and post merger) समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा ।
५. नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा ।
६. पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा ।













