नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आज अधिवक्ता विशाल थापा समेतले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, राष्ट्र बैंक, र गभर्नरमा नियुक्ति पाएका डा. विश्वनाथ पौडेललाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन् ।
रिट निवेदन उनको योग्यता नपुग्ने जिकिर गरिएको छ । उनीसँग मौद्रिक, वाणिज्य वा बैंकिङ क्षेत्रको औपचारिक योग्यता नभएको उल्लेख गरिएको छ।
गभर्नर सिफारिस समितिको सदस्यले राजीनामा दिने व्यवस्था कानून मै नरहेको, तथा गभर्नर नियुक्त भएका उनले राजनीतिक पार्टीबाट चुनाव लडेकोले सुशासनको धज्जी उडाएर गभर्नर नियुक्त गरिएको उल्लेख छ । रिटमा उनको नियुक्ति बदर गर्न र मुद्दाको अन्तिम किनारा नलागेसम्म नोटमा हस्ताक्षर गर्ने लगायतका गम्भीर राष्ट्रिय महत्त्वको विषयमा गभर्नरको हैसियतले कुनै पनि कार्य सम्पादन नगर्न नगराउनको अन्तरिम आदेशको माग गरिएको छ ।
यो रिटको पेशी बुधबारको लागि तोकिएको छ ।













