मोरङमा १ अर्ब लागतमा सलाइन पानी उद्योग स्थापना भएको छ । मेडिकल व्यावसायी दिनेश ठाकुर र रञ्जित भगतले एलेक्जा लाइफ साइन्सेस प्रा.लि. नामक कम्पनी स्थापना गरी सलाइन पानी उद्योग सञ्चालनमा ल्याएका हुन् ।
मोरङको बुढीगंगामा स्थापना भएको यस उद्योगले साउनदेखि ‘एलेक्जा’ ब्रान्डमा सलाइन पानी बजारमा ल्याउने जनाइएको छ ।
उद्योगले पहिलो चरणमा अत्यावश्यक मानिने सलाइन पानी एलभीपी बजारमा पठाउने छ । एलभीपी सलाइन १ सय, ५ सय, १ हजार र ३ हजार एमएल गरी ४ प्रकारका बोतलमा बजारमा बजार पठाइने कम्पनीले जनाएको छ ।
कम्पनीको अध्यक्ष समेत रहेका ठाकुरका अनुसार पूर्ण रूपमा सञ्चालनमा आउँदा उद्योगको कुल लागत १ अर्ब पुग्ने अनुमान छ । उद्योगमा मासिक ९ लाख बोतल सलाइन पानी उत्पादन गर्ने क्षमता छ । उद्योगले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको अत्याधुनिक प्लान्ट स्थापना गरेको छ ।
उद्योगले दोस्रो चरणमा सानो परिमाणमा स्मल भोल्युम प्यारेन्टेरल (एसभीपी) उत्पादन गर्नेछ । अध्यक्ष ठाकुरका अनुसार उद्योगले ‘एलेक्जा’ ब्रान्डमा आफ्ना उत्पादन विदेशमा पनि निर्यात गर्ने लक्ष्य राखेको छ ।









