आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २७औँ बार्षिक साधारण सभा आज फाल्गुण २५ गते आइतबार सम्पन्न भएको छ। साधारण सभाले कम्पनीले आर्थिक बर्ष २०८०।०८१ को वितरणयोग्य मुनाफा तथा गत आर्थिक बर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ९.७३६८ प्रतिशतका दरले हुन आउने रकम रु.२९ करोड ४९ लाख ६१ हजार ५ सय ३० रुपैयाँ (कर प्रयोजनार्थ सहित) नगद लाभांश पारित गरेको छ ।
साधारणसभाले सभामा पेश भएका अन्य सबै प्रस्ताव पनि पारित गरेको छ । साधारण सभामा अध्यक्ष हेमराज ढकालले कम्पनीको आफ्नै जग्गामा निर्माणधिन ११ तल्लाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको, भवनको सम्पूर्ण कार्य करिब ६ महिना भित्र सकिने अपेक्षा रहेको र यसै गरी कम्पनीले आगामी बर्षदेखि विभिन्न प्रदेशमा समेत आफ्नै भवनको अवधारणा अगाडी सारेको र सोलाई क्रमश व्यवस्था गर्दै लगिने बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २७औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहक महानुभावहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र सहकर्मी साथीहरुको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराए। यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गरे । लगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशनले अगाडी बढिरहेको जानकारी गराए ।













