सरकारले ८ हजार जनाभन्दा बढी सहकारी पीडितको बचत रकम फिर्ता गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीका अनुसार सरकारले फागुन २० गतेसम्म माग दाबी गरेका ८ हजार १५५ जना सहकारी पीडितको बचत रकम फिर्ता गरेको जानकारी गराएका हुन् ।
मन्त्री अधिकारीका अनुसार सरकारले हालसम्म ८ हजार १५५ जना सहकारी पीडितको १ अर्ब ६७ करोड ६७ लाख २० हजार ५८ रुपैयाँ बचत रकम फिर्ता गरेको हो ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ माथिको छलफलका क्रममा मन्त्री अधिकारीले पछिल्लो ४ महिनाको बीचमा ८ सय ऋणी सदस्य र बचतकर्ता सदस्यको बीचमा १ अर्ब १० करोड बराबरको हिसाब मिलान गरिएको जानकारी पनि दिएका छन् । १ हजार ऋणी सदस्यबाट ऋण असुल गरिसकेको र ३१ करोड बचत भइसकेको भन्दै उनले ७ हजार ऋणी सदस्यहरुको बैंक खाता तथा अचल सम्पती रोक्का गरिएको पनि जानकारी गराएका छन् ।












