लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर पुन: बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार यस अघि यी शेयर फागुन १५ गते बाँडफाँड गरिएकोमा नियामक निकायको निर्देशन पछि फागुन २१ गते शेयरहरु पुन: बाँडफांड गरिएको हो ।
यसअघि लिलामीको शेयरको प्रारम्भिक कट अफ मूल्य १०२२ रुपैयाँ कायम गरिएकोमा शेयरहरु पुन: बाँडफांड गर्दा कट अफ मूल्य घटेर ९६१.५० रुपैयाँ कायम भएको छ । जस अनुसार ९६१.५० रुपैयाँमा भन्द बढी मूल्य कबुल गर्नेले शेयर पाएका छन् । ९६१.५० मै आवेदन दिनेले समानुपातिक रुपमा सापेक्षिक भार अनुसार शेयर पाएका छन् । लिलामीको शेयरमा कुल १ हजार ७ सय ९९ वटा आवेदन परेका थिए।
शेयर नपरेकाहरुलाई पैसा फिर्ता गर्न सुरु गरिसकिएको कम्पनीले जनाएको छ । आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक खातामा आईपीएस मार्फत रकम फिर्ता गरिने कम्पनीले जनाएको छ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनले माघ २१ गतेदेखि फागुन ५ गतेसम्म अवितरित हकप्रद शेयर लिलाम गरेको थियो। कम्पनीले १ः०.८८४५१६८ अनुपातमा हकप्रद निष्काशन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४ लाख ९२ हजार ५७७ कित्ता अवितिरत हकप्रद शेयर लिलाम गरेको थियो ।












