बलेफी हाइड्रोपावर लिमिटेडले लिलामीमा ल्याएको हकप्रद शेयरमा परेका बोलपत्रहरु बिहिबार खोलिने भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले फागुन २२ गते बिहिबार बिहान ८ बजे क्यापिटलको लाजिम्पाट स्थित कार्यालयमा बोलपत्रहरु खोलिने जनाएको हो ।
कम्पनीले फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म हकप्रदमा अवितरित कुल १७ लाख ९८ हजार ६ सय ५६ कित्ता शेयर लिलाममा ल्याएको थियो । जस मध्ये ६ लाख ७६ हजार १ सय ९१ कित्ता संस्थापक शेयर थियो भने ५ लाख ८ हजार ८ सय ९२ कित्ता सर्वसाधारण समुहको शेयर थियो । यो लकइनमा रहेको शेयर हो। जसको लकइन अवधि २०८१ चैत्र २९ गतेसम्म रहेको छ। त्यस्तै लकइनमा नरहेको सर्वसाधारण समूहको ६ लाख १३ हजार ५ सय ७३ कित्ता शेयर पनि लिलाममा आएको थियो।
कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने व्यवस्था थियो। सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।
लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने व्यवस्था थियो । आवेदन दिंदा कुन समूहको शेयरको लागि आवेदन दिएको हो, सो खुलाउनु पर्ने थियो।
कम्पनीले मङ्सिर २७ गतेदेखि पुस १७ गतेसम्म १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। जसमा रितपुर्वक आवेदन दिने ५३ हजार ५७ जना लगानीकर्तामा १ करोड ६४ लाख ८१ हजार ४४ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको थियो। बिक्रि नभएको शेयर लिलाम भएको हो ।












