हुण्डाईको नेपालस्थित आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभी नेपाल भित्र्याएको छ । कम्पनीले हुन्डाईको बहुप्रतिक्षित क्रेटा ईभी नेपाल भित्र्याएको हो ।
भारतीय बजारमा २ महिनामै निकै सफल सावित भइसकेको क्रेटा ईभी नेपालमा निकै प्रतिक्षा गरिएको मोडल हो । पहिलो चरणमा ६ वटा गाडी नेपाल भित्र्याएको लक्ष्मी इन्टरकन्टिनेन्टलले बिहिबार भैरहवा भन्सारबाट गाडी पास गरेको हो ।
क्रेटा ईभीमा दुई वटा ब्याट्री प्याकमा उपलब्ध छ । एउटा ४२ किलोवाट आवरको ब्याट्री छ, जसले ३९० किलोमिटरको रेन्ज दिने दाबी गरिएको । अर्को ५१.४ किलोवाट आवरको ब्याट्रीले करिब ४७० किलोमिटर रेन्ज दिने बताइएको छ ।
अहिले नेपाल आएको गाडीमा ४२ किलोवाट आवरको ब्याट्री छ । यो गाडी मार्च दोस्रो हप्ताभित्रमा अफिसियल लन्च गर्ने तयारीमा कम्पनी छ । कम्पनीका अनुसार औपचारिक रुपमा सार्वजनिक भएपछि गाडीको बिक्री प्रारम्भ हुनेछ ।
‘अहिले लन्चको तयारी भइरहेको छ, लन्च लगत्तै बिक्री सुरु हुन्छ’ कम्पनी स्रोतले भन्यो, ‘बढीमा १५/२० दिन लाग्न सक्छ ।’













