विद्युतीय गाडी बिवाईडीको हाइटेक वीक–२०२५ काठमाडौँमा सुरु भएको छ । बिवाईडीका गाडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ प्रविधि र सुपरकारसहित हाइटेक वीक सुरु गरेको हो ।
हाइटेक वीकमा नेपाली बाटोमा नगुडेका ५ नयाँ मोडलका कारहरु प्रदर्शनीमा राखिएको छ । यीमध्ये दुई मोडललाई चाँडै नेपालमा बिक्रीका लागि ल्याइने कम्पनीले जनाएको छ ।
बिवाईडीको अफरोड पीकअप ट्रक सार्क, बाओ ५, याङवाङ यु ८, जेड ९ जिटी र डेन्जा प्रदर्शनीमा राखिएको हो । याङवाङ यु ८ सुपरकार हो । यो गाडी ३६० डिग्रीमा गाडी घुम्छ भने आपतकालीन अवस्थामा डेढ घण्टासम्म पानीमाथि समेत तैरिन सक्छ ।
बिवाईडीले छिट्टै नेपाली बजारमा प्लग इन हाइब्रिड पीकअप सार्क तथा लक्जरी एमपीभी जेन्डा जेड ९ जिटी बिक्री गर्ने तयारी गरेको छ । हाल ब्याट्री ईभी बिक्री गरिरहेको साइमेक्स इंकले प्लग इन हाइब्रिडसमेत बिक्री गर्ने भएको हो ।
बाँकी तीन मोडल भने प्रदर्शनीमा लागि मात्रै राखिएको हो ।
नयाँ बिवाईडी मोडेलहरू र आउँदै गरेका नवीनतम प्रविधिहरू अवलोकन गर्ने अवसर भएकाले मानिसहरुले यस अवसरलाई चासोका साथ सदुपयोग गरेका छन् । कम्पनीले पनि बिवाईडी हाई–टेक वीक २०२५ ले नेपालको हरित ऊर्जा यात्रालाई थप गति दिनुका साथै ईभी प्रविधिमा नवीनता ल्याउने लक्ष्य राखेको छ ।
साइमेक्स इंककी अध्यक्ष यमुना श्रेष्ठका अनुसार हाइटेक वीकमा अवलोकनकर्ताहरुले बिवाईडीका नविनतम प्रविधि र कारहरु देख्न पाउनेछन् ।













