मुगुस्थित छायानाथ रारा नगरपालिका–९ मुर्माटपमा कर्णालीकै पहिलो लक्जरी रिसोर्ट ‘रारा रिसोर्ट’ बन्ने भएको छ । एक्सपर्ट ग्रुप र रारा होल्डिङ्सले निर्माण गर्न लागेको रारा रिसोर्टको शिलान्यास गरिएको छ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले काठमाडौँबाट डिजिटल माध्यममार्फत रिसोर्टको शिलान्यास गरेका हुन् ।
गत वैशाखमा सम्पन्न भएको तेस्रो लगानी सम्मेलनमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स रिसोर्टबीच मुर्माटपमा लक्जरी रिसोर्ट बनाउने सम्झौता भएको थियो । ८० रोपनीमा निर्माण हुने रिसोर्टमा १ अर्ब ५० करोड रुपैयाँ लगानी हुनेछ । दुई वर्षभित्र वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ ।
रारा होल्डिङ्सका अध्यक्ष अभिषेक बिक्रम शाहका अनुसार पर्यटकलाई रारा तालको किनारबाट रिसोर्टसम्म लैजान दुई किलोमिटर दूरीमा ‘मोनोरेल’ निर्माण गरिने भएको छ ।

अहिलेको डिजाइनअनुसार रिसोर्टमा ६० कोठामध्ये एउटा सुइट, ४ डिलक्स र बाँकी ३५ वटा स्ट्यान्डर्ड रुम रहनेछन् । पहिलो चरणमा ४० कोठा र १२ भिल्ला तयार गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । रारा तालबाट २ किलोमिटर माथि पर्ने मुर्मा टपमा बन्ने सो रिसोर्टमा १ सय जना क्षमताको रेस्टुराँ, स्पा, हेलिप्याडलगायत सुविधा हुनेछन् ।













