नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पाथीभरा (मुकुम्लुङ) केबलकारमा बनाउन लागिएका पूर्वाधारले कुनै पनि धार्मिक संरचना नबिगार्ने बताएका छन् । पाथीभरा केवलकार निर्माणका सन्दर्भमा विरोध र विवाद बढ्दै गएपछि आइएमई समूहका अध्यक्षसमेत रहेका ढकालले पाथीभरा केबलकारमा बनाउन लागिएका पूर्वाधारले कुनै पनि धार्मिक संरचना नबिगार्ने बताएका हुन् ।
उनले मन्दिर परिसरमै पाँचतारे होटल बनाउन लागिएको पनि हल्ला मात्रै भएको बताए । आइएमई समूहले रोजगारी र राजस्वमा योगदान गर्ने र पाथीभराप्रति आस्थावान नागरिकलाई ‘ईजी एक्सेस’ दिने बाहेक अर्को कुनै उदेश्य नरहेको पनि प्रष्ट पारेका छन् ।
‘ईजी एक्सेस होस् भनेर पाथीभरामा केबलकार बनाउन लागिएको हो, रोजगारी र राजस्वमा योगदान गर्ने र पाथीभराप्रति आस्थावान नागरिकलाई सहजै पुग्ने अवस्था बनाउने बाहेक अर्को लक्ष्य छैन, केबलकार भनेको सवारीसाधन नै हो’ अध्यक्ष ढकालले भने, ‘अहिले विरोध गरिरहनु भएकाहरुले निर्माण सम्पन्न भएपछि राम्रै रहेछ, ठिकै रहेछ भन्ने महशुस गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
उनले अहिले नेपाल आएका पर्यटकले प्रतिव्यक्ति ५० डलर प्रतिदिन खर्च गरिरहेको र यसलाई बढाउन पनि पर्यटकको बसाइँ लम्ब्याउने गन्तव्यको विकास गर्नुपर्छ भन्ने उदेश्यका साथ आइएमई समूहले सातै प्रदेशमा एक एक वटा पूर्वाधार विकास गर्ने लक्ष्य अनुरुप पाथीभरामा पनि केबलकार परियोजना सुरु गरिएको जानकारी दिए ।
उनले चन्द्र ढकालले पाथीभरा मन्दिरको भेटीमा आँखा लगायो भन्ने समेत आरोप लगाइएकोमा दुःख व्यक्त गर्दै मन्दिरको भेटीसँग केबलकारको कुनै सम्बन्ध नहुने प्रष्ट पारेका छन् । आइएमई समूहले विकास गरेका केबलकार आयोजनाहरु निर्माण सम्पन्न भएर अहिले आम नागरिकको सम्पत्ति बनिरहेको भन्दै उनले पाथीभरा केबलकारलाई पनि यस्तै बनाउन खोजिएको प्रष्ट पारे ।
‘चन्द्रागिरी केबलकार बनाउँदा पनि विरोध भएको थियो, अहिले यो आम नेपालीको सम्पत्तिका रुपमा विकास भएको छ, मौलाकालि केबलकार पनि यहीँ मोडलमा अघि बढिरहेको छ’ ढकालले भने, ‘परियोजना बनिसकेपछि ति संरचना र गन्तव्य चन्द्र ढकालको मात्रै सम्पत्ति होइनन्, आम नेपालीका सम्पत्ति हुन्छन् । विरोध गर्ने समूहलाई चन्द्रागिरी र मौलाकाली केबलकार भिजिट गर्न अनुरोध गर्दछु, पाथीभरा केबलकारलाई पनि यस्तै यस्तै बनाउन खोजिएको हो ।’
केबलकार ठ्याक्कै मन्दिरमै पुग्ने नभई ७ सय मिटर तल नै टप स्टेशन बन्ने पनि अध्यक्ष ढकालले दोहोर्याए । उनका अनुसार यो परियोजनाको कुल लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ । केबलकार निर्माणपछि करिब ३ सय जनाले प्रत्यक्ष रोजगारी पाउने र यसमा करिब ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइने अध्यक्ष ढकालको भनाइ छ ।
अहिले विवादका क्रममा भएको झडपपछि काम रोकिएको छ । पक्ष र विपक्षबीच गृह मन्त्रालयको मध्यस्थकर्तामा वार्ता अघि बढेको छ ।













