Saturday, July 18, 2026
spot_img

आफ्नै खर्चमा सोलार जडान गरेर अरुको उद्योग र कार्यालय उज्यालो बनाइरहेको घामपावर

spot_img

२०६७ साल तिर नेपालमा १८ घण्टासम्म लोडसेडिङ थियो । कतिबेला बिजुली आउँछ र जान्छ भन्ने यकिन थिएन । विद्युत प्राधिकरणले लोडसेडिङको तालिका त थमाउँथ्यो, तर खासै भरपर्दो थिएन। अध्ययनको शिलशिलामा अमेरिका पुगी त्यहाँ सफ्टवेयर उद्यमीको रुपमा काम गरिरहेका सन्दीप गिरी त्यसताका भर्खरै नेपाल फर्किएका थिए । दिनहुँको घण्टौ लोडसेडिङ र रात करिब करिब अन्धकारमै बित्ने नेपालीहरुको नियति देखेपछि उनलाई लाग्यो, ‘नेपालमा राम्रै घाम लाग्छ, यो लोडसेडिङको बेला सोलारबाट बिजुली किन ननिकाल्ने ?’ यहीँ सोच राखेर आफ्ना साथीभाइहरुसँग सल्लाह लिन थाले सन्दीप । केही दिनको छलफल पश्चात उनले ‘घाम पावर नेपाल प्रा.लि.’ नामक कम्पनी स्थापना गरे ।

त्यो समयमा सोलार भनेको ग्रामिण भेगमा मात्र बत्ति बाल्न र मोबाइल चार्ज गर्न प्रयोग गरिन्छ भन्ने आम मानसिकता थियो । सोलारबाट नै कम्प्युटर चलाउन सकिन्छ, अन्य विद्युतीय उपकरण चलाउन सकिन्छ भन्ने विश्वासै थिएन । शहरी क्षेत्रमा त झन् सोलार एकदमै न्यून थियो ।

स्थापना भएको केही समयमा नै कम्पनीले शहरी क्षेत्रका ३ हजार बढी घरमा सोलार जडान गरि सोलारबाट बिजुली बाल्ने र घरमा अन्य विद्युतीय औजार उपकरण चलाउन सकिने व्यवस्था गरिदियो । ग्रामिण भेगमा पनि सोलार माइक्रो ग्रिड

राखेर कम्पनीले गाउँघर उज्यालो बनाउने अभियान चलायो । कम्पनीले खोटाङ, जुम्ला लगायतका जिल्लामा गरि १५ वटा गाउँमा सोलारको माइक्रोग्रिड जडान गरेर गाउँलाई नै अन्धकारमुक्त गरेको थियो । ति ठाउँमा नेपाल विद्युत प्राधिकरणको बिजुली नै पुगेको थिएन । विद्युत प्राधिकरण नै नपुगेको ठाउँमा कम्पनी आफैँले ग्रिड जडान गरि विद्युत उत्पादन गरेर स्थानीयलाई बिक्री गर्ने गरेको र त्यति बेलै इसेवा मार्फत अनलाइन भुक्तानी समेत सुरुवात गरिएको घामपावरका प्रमुख कार्यकारी अधिकृत अन्जल निरौला स्मरण गर्छन् ।काठमाडौँमा अनलाइन भुक्तानी नयाँ हुँदा घामपावरले ग्रामिण भेगमा समेत अनलाइन भुक्तानी गराएको उनको स्मृतिमा अझै ताजै छ ।

घाम पावरले जडान गरेको कुटानी पिसानी मिल

त्यस समय कम्पनीले कतिपय गाउँमा सोलार जडान गरेर त्यसबाट नै कुट्ने पिस्ने मिल चलाउन सकिने व्यवस्था गर्यो । ५ सय बढी स्थानमा कम्पनीले सोलार जडान गरेर उर्वर भूमीमा सिँचाईको समेत सुविधा प्रदान गर्यो, जसबाट पानीको अभावमा उर्वर भूमी बाँझो बस्न पाएन ।

घर उज्यालो बनाउन आफैँ पर्सनल ग्यारेन्टी

सोलार जडान गर्न खर्चिलो हुन्थ्यो । ग्रामिण भेगका व्यक्तिहरुले एकै पटक ठूलो रकम खर्च गर्न सक्दैनन् । यस्तो अवस्थामा घाम पावरले साविकको ‘क्लिन इनर्जी डेभलपमेन्ट बैंक’सँग सम्झौता गरेर आफु पर्सनल ग्यारेन्टी बसेर घरायसी ग्राहकहरुले ऋण लिन सक्ने व्यवस्था गर्यो । किस्ताबन्दीमा ऋणको सावाँ ब्याज तिर्न सकिने र यदि कसैले नतिरेमा कम्पनी आफैँ पर्सनल ग्यारेन्टी बसेकोले बैंक कर्जा दिन सहमत भयो । त्यसपछि कम्पनीले सम्पूर्ण जडान गर्दथ्यो भने घरधनीले सावाँ र ब्याज तिरेपछि बिजुली बाल्न पाउँदथे ।

पर्सनल ग्यारेन्टी मोडल सफल भएपछि कम्पनीप्रति आम मानिसको भरोसा बढ्दै गयो । क्रमश सोलार जडान गर्ने लागत पनि कम हुदै गयो, र ग्राहक आफैले पर्सनल ग्यारेन्टी लिएर काम अगाडी बढाउन सक्ने अवस्थामा पुगे ।

सीइओ निरौलाका अनुसार यहीँ मोडलमा कम्पनीले लोडसेडिङको बेलामा ३ हजार बढी घरमा सोलार जडान गरेर उज्यालो अभियानको सुरुवात गर्यो । कम्पनीका अनुसार हजार जनाले त अझै पनि सो सोलार प्रयोग गरिरहेका छन् । यसरी कम्पनीले घरायसी ग्राहकहरुलाई करिब ३ मेगावाटको सोलार जडान गरिसकेको निरौलाको भनाई छ ।

ग्राहस्थ्यबाट संस्था र उद्योग तिरको फड्को

ग्राहस्थ्य ग्राहकको लागि बिजुलीको उपलब्धता सहज हुँदै गयो, क्रमशः नेपालमा पनि लोडसेडिङ हट्दै गयो । सोलार जडान गर्ने चाहना राख्नेहरु घट्दै गए ।

घरायसी ग्राहकलाई लोडसेडिङ अन्त्य भएपनि औद्योगिक ग्राहकको लागि लोडसेडिङ अन्त्य भएको थिएन । अहिले पनि उद्योगहरुमा आंशिक लोडसेडिङ कायमै छ भन्ने गरिन्छ । अनि कम्पनीले पहिला निजी घरहरुमा अपनाएको मोडल अनुसार उद्योगहरुमा काम गर्न थाल्यो । त्यसपछि सन् २०२१ बाट कम्पनीले उद्योगहरुमा सोलार जडान गर्न थाल्यो ।

गोल्डस्टार जुत्ताको फ्याक्ट्रीमा घामपावरले जडान गरेको सोलार

कम्पनीले सम्पूर्ण लगानी आफैँ गर्ने र आफैँले उद्योगलाई बिजुली बेच्ने मोडल सुरु गर्यो । त्यो पनि नेपाल विद्युत प्राधिकरणले भन्दा सस्तो मूल्यमा । कम्पनीले उद्योगहरुमा १०० किलोवाट भन्दा बढी क्षमताको मात्र सोलार जडान गर्ने गरेको छ । हालसम्म कम्पनीले कुल १० मेगावाट भन्दा धेरै सोलार उर्जा जडान गरिसकेको छ । कम्पनीले काठमाडौँ, चितवन, भैरहवा, बुटवल, दाङ, नेपालगञ्ज, हेटौँडा लगायतका स्थानका उद्योग, अस्पताल, विद्यालय, होटेल, मल , अफिसहरु जस्ता २५ स्थानमा सोलार जडान गरिसकेको छ ।

कम्पनीले आफ्नै लगानीमा ग्राहकको घर, भवनको छतमा सोलार जडान गर्छ, अनि ग्राहकलाई नै त्यसको बिजुली बिक्री गर्छ, त्यो पनि नेपाल विद्युत प्राधिकरणले दिने भन्दा सस्तो मूल्यमा । कम्पनीले आफूले दिने बिजुली प्राधिकरणको बिजुलीको मूल्य भन्दा औसतमा १० प्रतिशत कम नै हुने गरेको सीइओ निरौला बताउँछन् । तर यो प्राविधिक विषय रहेको र कहिले घाम धेरै नलाग्ने स्थान पर्ने, कहिले धेरै पाटपुर्जा आवश्यक पर्ने, कहिले धेरै जनशक्ति लाग्ने हुन सक्ने हुँदा मूल्य भने सबै संस्थाको हकमा एकै नहुने उनी प्रष्ट पर्छन् ।

कम्पनीले यी संस्थासँग विद्युत बिक्री सम्झौता गर्दा खर्चको लागत हेरेर १५ देखि २० वर्षको लागि गर्ने गरेको छ । कम्पनीको यो मोडल रुचाईएको कारण अहिले कुल ५० मेगावाटको प्रोजेक्टहरु कम्पनीको पाईपलाइनमै छन् ।

रेड्बुलको फ्याक्ट्रीमा घामपावरले जडान गरेको सोलार

कहिले कम्पनीले ग्राहकलाई प्रस्ताव गर्छ भने कहिले ग्राहक नै कम्पनी खोज्दै आईपुग्छन्। वर्ड अफ माउथ मार्केटिङले कम्पनीका ग्राहक बढिरहेका छन् । अहिले कम्पनीले काठमाडौँ गेस्ट हाउस, लबिम मल, हामा स्टील, गोल्डस्टार जुत्ता, यति कार्पेट, सोल्टी होटेल, विराट मेडिकल कलेज, ब्लुबर्ड मल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, डुम्रे स्कुल, याक एण्ड यति होटेल लगायतका छतमा सोलार जडान गरिसकेको छ ।

घाम पावरको सहायक कम्पनीको रुपमा घाम उर्जा सेवा प्रालि रहेको छ, जसले विभिन्न व्यवसायिक घराना र अन्य व्यवसायमा जडान गरिएका सोलार प्रणालीको व्यवस्थापनको कार्य गर्दै आएको छ ।

कानुनी आधार

धेरैलाई अझै पनि लाग्छ नेपालमा विद्युत बिक्री गर्ने निकाय नेपाल विद्युत प्राधिकरण मात्र हो । तर, विद्युत बिक्रीमा विद्युत प्राधिकरणको एकाधिकार तोडिइसकेको छ । माइक्रो हाइड्रोहरुले वर्षौदेखि आफैँ विद्युत उत्पादन गरेर स्थानीय स्तरमा बिक्री गरिरहेका छन् । घामपावरले पनि विद्युत ऐन अनुसार काम गरिरहेको छ । कम्पनीले बनाउने सबै प्लान्ट १ मेगावटभन्दा कम नै हुने भएकोले कम्पनीले विद्युत विकास विभागबाट अनुमति लिनु नपर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत निरौलाको भनाइ छ ।

उनका अनुसार कम्पनीले बनाएका हरेक प्लान्टबारे सम्बन्धित स्थानीय तहलाई जानकारी दिने गरिएको छ भने नेपाल विद्युत प्राधिकरणसँग नेट मिटरिङको सम्झौता गरिएको छ । विद्युत प्राधिकरणसँग नेट मिटरिङ गरिँदा आफुलाई बढी भएको बिजुली प्राधिकरणलाई पनि बिक्री गर्न सकिन्छ । यसको अलावा हरेक प्लान्टको विस्तृत विवरण प्राधिकरणले पाउने गर्दछ । कम्पनीले आफूले बनाएका प्लान्टको जानकारी वैकल्पिक उर्जा प्रवर्दन केन्द्रलाई पनि दिने गरेको छ । यी बाहेक ‘फोटोभोल्टिक सौर्य प्रणालीबाट प्राप्त हुने उर्जा सम्बन्धि कार्यविधि २०७४’ पनि कम्पनीले पालना गर्ने गरेको छ ।

बाह्य विश्वास जित्न सफल

कम्पनीले नेपालमा मात्र बाह्य देशका विभिन्न निकायको विश्वास पनि जितेको छ । कम्पनीले २०१४ देखी लगानी जुटाउन अन्य स्रोत खोज्न थालेको थियो ।  त्यस क्रममा कम्पनीले ऋण, सहायता, अनुदान प्राप्त गरिरहेको छ । कम्पनीले विदेशी साझेदारहरुसँग कुनै एक मोडलमा नभई ब्लेन्डेड फाइनान्सको नवीनतम् मोडलमा काम गरिरहेको छ । अन्तराष्ट्रिय साझेदारको रुपमा एशियाली विकास बैंक, जीआईजेड, ग्रिड अल्टरनेटिभ्स, इनोभेट युके, युएस एड, इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट लगायत २ दर्जन संस्था घामपावरसँग जोडिएका छन् । यसबाट सीइओ निरौला सन्तुष्ट देखिन्छन् ।

कम्पनीले विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएर विभिन्न अवार्ड पनि जितिसकेको छ । कम्पनीले एसियन डेभलपमेन्ट बैंकबाट १ लाख डलरको पुरस्कार पनि हात पारेको थियो ।

सबै नाफा पुनः लगानी

कम्पनी स्थापना हुँदा सन्दिप गिरी र उनका निकटका समूहले कम्पनीमा लगानी गरेका थिए । पछि क्रमशः कम्पनीमा विभिन्न व्यक्ति र समूहको लगानी बढ्दै गयो । क्यापिटल इन्टेनशिभ प्रोजेक्ट भएकोले लगानीको लागि कुनै सीमा नराखिएको सीइओ निरौला बताउँछन् । सहज इन्ट्री र एक्जिट दिने योजना अनुरुप कम्पनीमा लगानीकर्ता आउने जाने भईरहेको उनको भनाई छ ।

घाम पावर नाफामुखी भन्दा पनि सामाजिक व्यवसाय रहेकोले कम्पनीले नाफामा धेरै जोड गरेको छैन । तर पनि कम्पनीको नाफा राम्रै रहेको छ । अहिलेसम्म नाफाको सबै रकम लगानी नै गरिएको र आगामी दिनमा भने लाभांश वितरणको योजना रहेको सीइओ निरौलाको भनाइ छ ।

घामपावरले जडान गरेको सोलार पम्प

झन्डै गिभअप गरिएको त्यो क्षण

अहिले कम्पनीले राम्रो गरिरहेको छ, तर व्यवसायको क्रममा कुनै त्यस्ता क्षण समेत आईदिए, जसको कारण कम्पनी झन्डै बन्द गर्नुपरेको थियो । जब घरायसी ग्राहकलाई लोडसेडिङ अन्त्य भयो, उनीहरुलाई चाहिने बिजुली राष्ट्रिय ग्रिडबाट नै उपलब्ध हुन थाल्यो । लोडसेडिङ अन्त्य भएपछि कम्पनीले आफ्नो बिजनेश मोडल नै परिवर्तन गर्नु पर्यो । त्यसपछि कम्पनीले ग्रामिण भेगमा किसानहरुको लागि सोलार वाटर पम्पको सेवा दिन थाल्यो, जसले सिचाईलाई सहयोग गर्यो । त्यस्तै कम्पनीले क्रमश शहरी इलाकामा अन्य व्यवसाय र उद्योगको लागि रुफटप सोलार सेवा दिन थाल्यो ।

इम्प्याक्ट रिपोर्ट

कम्पनीले विगत ४ वर्षदेखि आफ्नो वित्तीय विवरणको साथसाथै ‘इम्प्याक्ट रिपोर्ट’ अर्थात् प्रभाव रिपोर्ट पनि सार्वजनिक गर्दै आएको छ । यसमा कम्पनीले आफूले कति जनालाई सहयोग गर्न सकियो, कम्पनीको कार्यले कति जनाको जीवनस्तर सहज भयो, कति जनाको दैनिक जीवनमा परिवर्तन आयो, कम्पनीले गरेको कार्यले कति जनालाई लाभ मिल्यो लगायतका विवरण सार्वजनिक गर्ने गरेको छ ।

घामपाव्ररले जडान गरेको सोलार माइक्रो ग्रिड

भावी योजना

बिजुलीमा नेपाल अझै आत्मनिर्भर हुन सकेको  छैन । हिउँदमा अझै पनि भारतबाट बिजुली ल्याउनु पर्ने अवस्था छ भने बर्षायाममा पर्याप्त विद्युत हुने भएपनि बाढी पहिरो जस्ता प्रकोपले जुनसुकै बेला विद्युत उत्पादन बन्द हुन सक्ने जोखिम रहन्छ । अर्थात् कुनै पनि सिजनमा ढुक्क भएर बिजुली बाल्न सक्ने अवस्था छैन । अझ औद्योगिक ग्राहकले कहिल्यै पनि भने जति बिजुली पाउँदैनन् । यस्तो अवस्थामा आफ्नै घर, कार्यालय वा उद्योगको छतमा सोलार राखेर त्यहँबाट उत्पादन भएको बिजुली चलाउने चाहना कसलाई नहोला र ?

यसैले अहिले घामपावर पनि आफ्ना ग्राहकलाई ढुक्क हुन सकिने गरि निरन्तर हरित उर्जा प्रदान गर्न तत्पर रहेको छ । छिट्टै नै आफ्नो पोर्टफोलियो अहिलेको १० मेगावाटबाट बढाएर १०० मेगावाटसम्म पुर्याउने कम्पनीको योजना छ ।

अहिले कम्पनीले ४५ जनालाई पूर्ण रोजगारी दिएको छ भने अन्य ५० जना भन्दा धेरै ‘अन कल’मा रहेका हुन्छन् । यसो हुँदा कम्पनीले अहिले १०० जना भन्दा धेरैलाई रोजगारी प्रदान गरिरहेको छ । कम्पनीको व्यवसाय बढ्दै जाँदा कम्पनीले अझै धेरैलाई रोजगारी प्रदान गर्ने देखिन्छ ।

घामपावरको टिम

कम्पनीले ग्रामिण भेगमा सिप सिकाएर पनि दक्ष बनाईरहेका छन् । ग्रामिण भेगमा प्रोजेक्ट सुरु गर्दा खेरि नै कम्पनीले त्यहाँका स्थानीयलाई नै सुरु देखि नै प्रोजेक्टको प्राविधिक पक्ष सिकाएर कुनै समस्या आएमा उनीहरुले त्यहीँबाट नै समाधान गर्न सक्ने व्यवस्था गरेको छ ।

गर्दै सिक्दै

कम्पनीले सोलारमा मात्र काम गरेको छैन, कृषि र प्रविधिको क्षेत्रमा पनि काम गरिरहेको छ । जहाँ जस्तो समस्या आउँछ, कम्पनीले त्यसको समाधान खोज्ने प्रयासले समस्या परेको ठाउँमा हात हाल्छ । त्यस क्रममा कहिले सफलता पर्छ भने कहिले सिकाई मात्र हुन्छ ।

गर्दै सिक्दैको क्रममा कम्पनीले कृषि मिटरको विकास गरेको छ । जसले किसानलाई किसानले प्रयोग गर्ने माटो र पानीको गुणस्तर बताउँछ । यसले किसानलाई बालि लगाउने बेला निर्णय लिन मद्दत गर्छ । त्यस्तै कम्पनीले सुपर कृषक एप पनि निर्माण गरेको छ, जसले किसानलाई कृषि सम्बन्धि सम्पूर्ण जानकारी एपबाट नै दिन्छ ।

त्यस्तै कम्पनीले ग्रिप्स प्रोजेक्ट पनि सञ्चालन गरेको छ । जसले बत्ति नभएको बेलामा अटोमेटिक सोलारको माध्यमबाट बिजुली दिन्छ र उपकरणहरुलाई बिग्रनबाट जोगाउँछ ।

कानुनी सुधारमा जोड

घामपावरलाई नविन मोडलमा काम गर्नको लागि कुनै कानुनी बाधा छैन । तर अझै पनि सरकार वा सम्बन्धित निकायले कानुनमा भने सुधार गर्नुपर्ने सीईओ निरौला बताउछन् । व्यक्ति अनुसारले व्याख्या गर्न सकिने कानुनी प्रावधानलाई सुधार गरेर जसले ब्याख्या गरेपनि उही नतिजा दिने कानुनी व्यवस्था चाहिने उनी बताउँछन् ।

त्यस्तै कानुन बनाउँदा दिगोपना हुने गरि बनाउनुपर्ने उनको सुझाव छ । अबको १० वर्षसम्मको लागि यो विषयको कानुन यो भनेर प्रष्ट रुपमा भनिनुपर्ने र बीचमा त्यसलाई परिवर्तन गर्न नहुने उनको सुझाव छ ।

spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img