Saturday, July 18, 2026
spot_img

बद्लिएको बैंकिङ सेवा: भविष्य र चुनौती

spot_img

आजभन्दा ५ वर्ष अगाडीको समय र अहिलेको समयमा निकै अन्तर छ । अझ १० वर्ष अगाडीको हाम्रो दैनिकी स्मरण गर्ने हो भने त समयले कोल्टे नै फेरिसकेको आभाष हुन्छ । हुन पनि हो, अहिले दिनदिनै सूचना प्रविधिका क्षेत्रमा नयाँ नयाँ प्रयोग भइरहेका छन् । तिनले हाम्रो दैनिकीलाई सरल बनाउन मद्दत गरेका छन् ।

२१औँ शताब्दीलाई सूचना प्रविधिको युग भन्ने गरिन्छ । अहिले सूचना प्रविधि बिनाको दैनिकी हामी कल्पना गर्न सक्दैनौँ । एकछिन कल्पना गरौँ त ! हात हातमा स्मार्ट फोन, हात हातमा इन्टरनेट नहुँदो हो त अहिलेको हाम्रो दैनिकी कस्तो हुँदो हो ? सायद हामी अन्धकारयुक्त जीवन बाँचिरहेका हुन्थ्यौँ होला ।

अहिले सामान्य साक्षर व्यक्तिले पनि मोबाइल फोन बोकेको हुन्छ, उसले बैङ्क खाता खोलेको हुन्छ । कमाउन शहर छिरेका छोराछोरीले दुइ/चार हजार रुपैयाँ बैङ्क खातामा जम्मा गरिदिनासाथ उसको मोबाइलमा ट्वाङ्ङ घण्टी बज्छ । गाउँमा बसेर खसी बाख्रा पालेको छ, व्यापारी आउँछ, खसी किन्छ, आफ्नो मोबाइलबाटै खसी धनीको खातामा पैसा हालिदिन्छ, फेरि उसैगरि ट्वाङ्ङ घण्टी बज्छ ।

शहरमा आएर जागिर खाएको हुन्छ, महिना मर्नासाथ खातामा तलब जम्मा हुन्छ, यसको पनि मोबाइलमै सन्देश आइहाल्छ । छोराछोरी पढाएको छ, पहिले पहिले जस्तो ‘स्कुल फि’को बिल बालबालिकामार्फत अभिभावककहाँ जाँदैन, मोबाइलमार्फत सिँधै स्कुलले अभिभावकलाई पठाउँछ । अभिभावक पनि नगद बोकेर स्कुल पुगिरहनु पर्दैन, सिँधै मोबाइल फोनबाटै आफ्ना बालबच्चाको ‘स्कुल फि’ तिर्न सक्छन् ।

गाउँमा बुबा आमा छोडेर छोराछोरी पढ्न, कमाउन शहर छिरेका हुन्छन् । गाउँमा बा–आमाले हेरुन् भनेर टिभी जोडिएको हुन्छ, पैसा सकिनासाथ मोबाइलबाट एकाध मिनेटमै रिचार्ज हुन्छ । यसकारण बा–आमा कृष्ण कँडेलको इन्द्रेणी र जिग्री–पाँडेको हास्य टेलिसिरियलमा रमाउन पाइरहेका छन् । यो सबै नेपालका बैंकहरुले सूचना प्रविधिलाई अबलम्बन गर्दा आम नागरिकले पाएको सुविधा हो ।

त्यसो त, कुनै बेला बैङ्क भनेको ‘हुने खाने’ वर्गको लागि मात्रै हो भन्ने सोचाई थियो । यतिसम्म की, बैङ्कको शाखामा प्रवेश गर्न पनि सुट–बुटमा सजिएको हुनुपर्छ भन्ने चिन्तन ब्याप्त हुँदा निम्न र मध्यम वर्गका मानिसहरु बैङ्क छिर्नै सक्दैनथे । तर, अहिले अवस्था फेरिएको छ, बैङ्क भनेको सबैका लागि हो भन्ने सन्देश कुना कन्दरासम्म फैलिएको छ ।

हाल नेपाली बैंकहरुले विश्वस्तरीय सूचना प्रविधिलाई उपयोग गरेका छन् । जसको फलस्वरुप बिजुली र खानेपानीको महशुल तिर्न, सवारीको कर तिर्न, गाडी तथा हवाइजहाजको टिकट खरिद गर्न, चलचिल हलको टिकट खरिद गर्न, इन्टरनेट र टेलिफोनको महशुल तिर्न, सरकारी राजस्व तथा कर दाखिला गर्न अहिले एउटा मोबाइल फोन काफी भएको छ ।

यी सबैका लागि बैङ्क खाता भने अनिवार्य हुन्छ । विश्वमा हुने सूचना प्रविधिका नवीनतम् प्रयोगलाई नेपालको बैंकिङ क्षेत्रले उपयोग मात्रै गरेको छैन, त्यसमा नागरिकलाई अभ्यस्त बनाउन निकै मेहनत पनि गरेका छन् । नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा कुनै न कुनै वाणिज्य बैङ्कले शाखा खोल्नैपर्छ भन्ने अभियान सुरु गरेपछि अझ बैङ्कहरु गाउँ केन्द्रित भए । हाल ७५३ वटै पालिकामा वाणिज्य बैङ्कको शाखा पुगिसकेको छ ।

उदाहरणका लागि मुलुकका ७७ वटै जिल्लामा शाखा पु¥याउने नेपालको पहिलो बैङ्क ग्लोबल आइएमई बैङ्क हो । माथि उल्लेखित बैङ्क भनेको ‘हुने खाने’ वर्गको लागि मात्रै हो भन्ने चिन्तन हाबी रहेका बेला ‘सबैका लागि बैङ्क’ भन्ने नाराका साथ नेपाली बैंकिङ उद्योगमा उदाएको ग्लोबल आइएमई बैङ्कले हाल सरल बैंकिङ सेवासहित रेमिट्यान्ससमेत भित्र्याउँदै आएको छ । यो केवल उदाहरण मात्रै हो ।

बचत र कर्जामा पहुँच
निजी क्षेत्रको प्रवेशले उच्चस्तरीय र सबैको पहुँचमा आइपुगेको नेपाली बैंकिङ उद्योगले तपाई हाम्रो दैनिकीलाई कसरी सरल बनाएको छ भन्ने उदाहरण माथि नै चर्चा गरिसकिएको छ । साथै, बचत, उद्यम व्यापार र कर्जामा पहुँचबारे पनि अलिकति चर्चा गर्नु उपर्युक्त हुन्छ ।

साढे ३ दशक अगाडीसम्म नेपालमा सरकारी बैङ्क मात्रै थिए । त्यो बेला अर्थतन्त्रको आकार पनि सानो थियो, उद्यम व्यवसाय पनि सिमित घरानामा केन्द्रित थियो । तर, जब नबिल बैङ्क हुँदै निजी क्षेत्रको लगानीमा थप बैङ्क स्थापना हुन थाले, त्यसपछि सर्वसाधारणहरु पनि कर्जा लिएर उद्यम व्यवसायमा आकर्षित हुन थाले । ५ लाख, १० लाख जस्ता सानो आकारको कर्जा लिएर स्वाबलम्बन र स्वरोगार बनेकाहरु धेरै छन् । जसको फलस्वरुप आज मुलुकको अर्थतन्त्रको आकार मात्रै बढेको छैन, कुल रोजगारीमा निजी क्षेत्रको योगदान ८५ प्रतिशत र कुल राजस्वमा निजी क्षेत्रको योगदान ८३ प्रतिशत हाराहारी पुगेको छ । यो बैंकिङ उद्योगकै योगदान हो ।

अर्को कुरा, बैङ्कले मानिसलाई बचत र लगानी गर्न सिकाएको छ । वित्तीय साक्षरता प्रदान गर्न बैङ्कहरुले गाउँगाउँमा अभियान चलाएका छन् । कर्जा दुरुपयोग गर्नु हुँदैन, कर्जा लिएपछि त्यसको उपयोग गरेर थप बढी कसरी कमाउन सकिन्छ भन्ने शिक्षा दिएका छन् । साथै, नेपालमा रेमिट्यान्स भित्र्याउन एक खालको क्रान्ति गरेको ग्लोबल आइएमई बैङ्कसहितको पहलमा विदेशबाट आउने रेमिट्यान्समा १ प्रतिशत ब्याज बढी दिने काम भएको छ । यसले विदेशमा भएकाहरुलाई आफूले कमाएको पैसा औपचारिक प्रणालीबाट नेपाल पठाउन प्रेरित गरेको छ । यस्ता कयौँ उदाहरण छन्, जसले नेपालको अर्थतन्त्र र आम नागरिकको जीवनशैलीमा बैंकिङ क्षेत्रले आमूल परिवर्तन ल्याएको छ ।

नयाँ पुस्ताः ‘टेक्नोलोजी फ्रेण्डली’
अहिले बालबालिकाहरु मोबाइल मात्रै चलाउँछन्, मोबाइल मात्रै हेर्छन् भन्ने आम अभिभावकको गुनासो सुन्ने गरिन्छ । हो, बच्चाहरु मोबाइल नहेरी खाना खाँदैनन्, मोबाइल नचलाई सुत्दैनन्, विद्यालयले दिएको गृहकार्य गर्न छोडेर मोबाइलमा झुण्डिन्छन् । यो आम अभिभावकले अहिले झेलिरहेको समस्या हो ।

सानैमा मोबाइल देखाएर खाना खुवाउने, बच्चालाई मोबाइल देखाइदिएर आफू अरु नै काममा लाग्ने गर्नु राम्रो होइन । तर, बुझ्ने हुँदै गएपछि, स्कुल पढ्न थालेपछि बालबालिकाले मोबाइल चलाएकोमा उति साह्रो चिन्ता लिनु भन्दा उनीहरुलाई त्यसबाट फाइदा हुने कुराहरुबारे बोध गराउनु बुद्धिमानीपूर्ण हुन्छ ।

उदाहरणका लागि, तपाई हाम्रा बा आमा भन्दा हामी तुलनात्मक रुपमा प्रविधिबारे बढी जानकार छौँ, यसको उपयोग पनि बा आमा भन्दा हामीले नै बढी गरिरहेका छौँ । ठिक यसैगरी, आगामी दिनमा विकास हुने अनेकौँ सूचना प्रविधिका आयामहरुमा हामीभन्दा हाम्रा सन्तान बढी जानकार हुन्छन् नै ।

सायद यसैलाई दृष्टिगत गरेर होला, ग्लोबल आइएमई बैङ्कले ‘ग्लोबल जुनियर’ एप ल्याएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ल्याइएको भनिएको उक्त एपमार्फत बालबालिकाहरुमा सानै उमेरदेखि बचत गर्ने र असल वित्तीय बानीेको विकास गर्न मद्दत पुग्ने भनिएको छ । यस एपबाट बालबालिकाले आफैँ डिजिटल बैंकिङ्गको अनुभव लिन सक्छन् भन्ने विश्वास पनि लिइएको छ । यसर्थ, बालबालिकाहरु मोबाइलमा झुण्डिरहन्छन्, बानी बिग्रिने भयो भन्ने जस्ता चिन्ता लिनुको सट्टा त्यसैबाट बचतसहित असल वित्तीय बानीको विकास गराउन अभिभावकले भूमीका खेलिदिने हो भने विद्यालय तहको अध्ययन सक्दा नै त्यो बालक÷बालिका वित्तीय रुपमा अनुशासित भइसकेको हुन्छ । नेपालका अरु बैंकहरुले पनि अब विद्यालय तहमा अध्ययन गर्दै गरेका बालबालिकाहरुलाई लक्षित गरेर थप वित्तीय साक्षरताका अभियानहरु चलाउनु आवश्यक छ ।

अहिले बचत गर्नु पर्छ भन्ने बानीको विकास भईसकेको छ र देशभर ५ करोड ७२ लाख भन्दा बढी बचत खाता खुलिसकेका छन् । झण्डै २० लाख ऋण खाता खुलेका छन् । मोबाइलबाटै कारोबार सहज हुने भएकोले २ करोड ५७ लाख बढी मोबाइल बैंकिङका ग्राहक छन् ।

छोटो समयमा नेपालको बैंकिङ क्षेत्रले नेपाली अर्थतन्त्रमा ठूलो योगदान दिइरहेको छ । देशको कुल ग्राहस्थ्य उत्पादनमा ठूलो हिस्सा राख्ने कृषि, उत्पादन र सेवा क्षेत्रमा बैङ्कहरुले ठूलो लगानी गरेका छन् । बैंकहरुले समग्रमा ५२ खर्ब बढी कर्जा प्रवाह गरेका छन् । जसले उद्योग व्यवसायलाई सहयोग प्रदान गरिरहेको छ, हजारौ मानिसहरु बैङ्कबाट कर्जा लिएर उद्यमी बनेका छन् ।

भावी बैंकिङ र चुनौती
सूचना प्रविधिको युगले दिनानुदिन फड्को मारिरहेको छ । भावी दिनमा बैङ्कले दिने सेवाहरु थप प्रविधियुक्त हुनेमा दुईमत छैन । सम्पूर्ण कार्यहरु अनलाइनबाट नै हुने र बैङ्कमै जानु नपर्ने दिन नआउला भन्न सकिँदैन । ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र ‘भर्चुअल रियालिटी’ले बैङ्कले प्रदान गर्ने सेवामा नवीनपन ल्याउन सक्छ । आर्टिफिसियल इन्टेलिजेन्सले नै व्यक्तिलाई कुन कुन प्रकारका सेवा कति कति शुल्कमा लिनु उपयुक्त हुन्छ भन्नेबारे सिफारिस गर्न सक्छ । भावी दिनमा सहजै अन्तरदेशीय कारोबार हुन सक्ने सम्भावना रहन्छ । बैङ्कहरुले वित्तीय प्रविधि क्षेत्रका कम्पनीहरुसँग साझेदार गरेर नयाँ नयाँ सेवा ल्याउन सक्छन् । बैङ्कमा कर्मचारीले भन्दा बढी सेवा एआई च्याटबटले प्रदान गर्न सक्छ । विस्तारै नगद बोक्नुपर्ने झन्झट कम हुने र क्रमशः सबै कारोबार नै डिजिटल हुने दिशातर्फ बैंकिङ क्षेत्र अघि बढ्न सक्छ ।

यसो हुँदै गर्दा चुनौती पनि थपिने छन् । अनलाइनमार्फत हुने वित्तीय अपराध बढ्दै गएकोले साइबर सुरक्षाको चुनौती सबैभन्दा महत्वपूर्ण रहन्छ । नवीनतम सेवा आउँदै गर्दा त्यसको नियमनको चुनौती र कानुनी सुधारको पाटोमा पनि ध्यान दिनु आवश्यक छ । ‘बल्कचेन’ र ‘क्रिप्टो’ जस्ता प्रविधिलाई कसरी नियमन गर्ने भन्ने चुनौती अहिले पनि छ । भावी बैंकिङ उच्च प्रविधियुक्त र ग्राहक–केन्द्रित हुने देखिन्छ । यसो हुँदै गर्दा बैंकिङ सेवाहरु समावेशी हुनु आवश्यक छ र सबै क्षेत्र र वर्गका नागरिकले सेवा पाउने सुनिश्चितता कायम गर्नु बैङ्कहरुको जिम्मेवारी हुनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img