पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । बेलुन नेपाल प्रा.लि.ले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना गरेको हो ।
९ दिनसम्म चल्ने महोत्सवमा २ दर्जन बेलुन पोखराको आकाशमा उडाइने छ । महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायत विभिन्न देशबाट प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ ।
४० मिनेटको बेलुन उडानबाट अन्नपूर्ण हिमशृङ्खलासहित माछापुच्छ्रे र धौलागिरि साथै पोखरा उपत्यकाको दृश्यावलोकन गर्न सकिने छ । महोत्वसमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि सञ्चालन हुनेछ बताइएको छ ।
महोत्सव अवधिभरि दीपक बज्राचार्य एन्ड टिम, राजु लामा, एलिना चौहान, कुमा सागर एन्ड ख्वपः ब्यान्ड जस्ता नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि हुनेछन् ।
नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगरपालिकाले सहयोग गरेका छन् । संयुक्त आयोजकमा पोखरा पर्यटन परिषद् पनि छ ।
कार्यक्रमको ब्रान्ड एम्बासडरमा महानायक राजेश हमाल र अभिनेत्री प्रियंका कार्की रहेका छन् ।













