गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको पहिलो चरणको आईपीओमा माग भन्दा ११.४८ गुणा बढीको आवेदन परेको छ । सिडीएसको तथ्यांक अनुसार आवेदन दिने अन्तिम दिन आज पुस ३ गते साँझ ५ बजेसम्ममा कम्पनीले निष्काशन गरेको आईपीओमा ४७ हजार ६ सय ५९ जना आवेदकले २५ लाख ८३ हजार ४ सय ४० कित्ताको लागि आवेदन परेको छ।
कम्पनीले मङ्सिर १९ गतेदेखि पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि आईपीओ खुला गरेको थियो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता शेयर निष्काशन गरेको हो। माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने छ। जस मा २२ हजार ५ सयले मात्र १० कित्ताको दरले शेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका २५ हजार बढी आवेदक हातखाली हुने छन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मङ्सिर ७ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गरेको हो।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि निष्काशन गरिएको शेयर बाँडफाँड भएपछि कम्पनीले आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ ।












