Thursday, September 3, 2026
spot_img

बजार नियन्त्रण बाहिरः खाने तेल कार्टुनमा ५ सय महँगियो, चिनी प्रतिकिलो १६० !

spot_img

बाढी तथा पहिरोका कारण काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपुर्ति असहज हुन थालेपछि बजार भाउँ नियन्त्रणभन्दा बाहिर पुगेको तथ्यले देखाएको छ । चामल, चिनी, तेल जस्ता दैनिक उपभोग्य वस्तु र फलफूलको भाउ पछिल्लो एक हप्तामै अचाक्ली बढेको पाइएको छ ।

होलसेल (थोक व्यवसायी)बाटै मूल्य बढेर आएको खुद्रा व्यवसायीहरुले बताउने गरेका छन् । थोक व्यवसायीहरुले बाटो सजिलो नभएका कारण मूल्य बढेको बताउने गरेको खुद्रा व्यवसायीहरुको भनाइ छ । चिनीको हकमा होलसेल ब्यापारीले बिल दिनै नमान्ने नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरको आरोप छ ।

‘बिल चाहिँदैन भन्यो भने होलसेलले प्रतिकिलो १२० रुपैयाँमा चिनी दिन्छन्, तर हामीले उपभोक्तालाई बिल दिनुपर्छ । अहिले सरकारले चिठ्ठा कार्यक्रम ल्याएपछि बिल माग्ने क्रम बढेको छ’ उनी भन्छन्, ‘हामीले ग्राहकलाई बिल दिनु परेपछि हामीले पनि होलसेललाई बिल देउ भन्नैपर्‍यो । तर, होलसेलले बिल दिँदैनन् । बरु चिनी नै छैन भन्न थालेका छन् ।’

तेलको भाउ कार्टुनमा ५ सय बढ्यो

खाना पकाउन प्रयोग हुने तेलको भाउ पनि कार्टुनमै ४ देखि ५ सयसम्म बढेको छ । सन्फ्लावर तेलको भाउ अघिल्लो हप्तासम्म प्रतिकार्टुन २ हजार ८ सय रुपैयाँ थियो । ब्राण्ड अनुसार केही तलमाथि भएपनि अहिले अहिले कार्टुनमा ५ सय रुपैयाँ बढेर ३ हजार ३ सय रुपैयाँ पुगेको छ ।

खुद्रामा किन्दा प्रतिलिटर सनफ्लावर तेल ब्रान्ड अनुसार प्रतिलिटर ३ सयदेखि ३ सय ५० रुपैयाँ र तोरीको तेल प्रतिलिटर ३७५ रुपैयाँदेखि ४ सय रुपैयाँसम्म पुगेको व्यवसायीहरुको भनाइ छ ।

१६० रुपैयाँमा पनि पाइन छोड्यो चिनी

चाडवाडको सिजनमा सबैभन्दा धेरै खपत हुने चिनीको भाउ अहिले नै अचाक्ली बढेको छ । भारतबाट चिनी आयात हुन नसकेको र स्वदेशी उद्योगको स्टक सकिन थालेपछि बजारमा चिनीको अभाव देखिएको छ । अभाव हुन थालेसँगै अहिले बजारमा चिनीको भाउ प्रतिकिलो १६० रुपैयाँसम्म पुगेको छ ।

गत हप्तासम्म होलसेलमा प्रतिकिलो ११५ रुपैयाँ र खुद्रामा प्रतिकिलो १२० रुपैयाँ पुगेको चिनीको भाउ यो हप्ता सुरु हुनासाथ १२५ रुपैयाँ प्रतिकिलो पुगेको थियो । तर, बुधबारसम्म आइपुग्दा बजारमा चिनीको भाउ १६० रुपैयाँ पुगेको छ । तर, १६० रुपैयाँ तिर्छु भन्दा पनि चिनी नपाएको उपभोक्ताको गुनासो छ ।

चामल प्रतिबोरा ३ सय महँगियो

तेल र चिनी सँगसँगै चामलको भाउ पनि आकासिएको छ । बजारमा चामलको भाउ ब्राण्ड अनुसार प्रतिबोरा देखि ३ सयदेखि ४ सय रुपैयाँसम्म बढेको छ ।

यसअघि प्रतिबोरा (२० किलो) २ हजार ३ सय रुपैयाँ पर्ने चामलको मूल्य अहिले २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्म पुगेको छ । ३० किलोको चामल पनि प्रतिबोरा २ सय रुपैयाँसम्म महँगिएको छ ।

नेपाल चामल, तेल, दाल उद्योग संघले भने उद्योगले मूल्य नबढाएको बरु ढुवानीको लागत बढेका कारण उपभोक्तासम्म पुग्दा उपभोग्य वस्तुको मूल्य विगतको तुलनामा केही बढेको हुन सक्ने जनाएको छ । यद्यपी, चामलको हकमा भने भारतबाट आयात हुने धानको मूल्य बढेका कारण उद्योगहरुले प्रतिबोरा ५० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बढाउनु परेको संघका एक पदाधिकारीले स्वीकार गरेका छन् ।

बजार नियन्त्रणको प्रयास असफल

भोटेकोशी बाढी र सोही क्रममा पृथ्वी राजमार्ग भासिएपछि काठमाडौँ उपत्यका र उत्तरी भेगका जिल्लाहरुमा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको भाउ बढ्न सक्ने भन्दै वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकामा बजार अनुगमन तीव्र बनाएको छ । तर, यसको प्रभाव देखिएको छैन ।

साथै, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले पनि बजार अनुगमनका लागि अहिले १० टोली खटाएको छ । थप ६ टोली पनि खटाउँदैछ । यी टोलीहरुले नियमित बजार अनुगमनसहित उपभोक्ताहरुबाट आउने गुनासोका आधारमा पनि बजारमा अनुगमन गर्ने मन्त्रालय बताउँछ । तर, एक हप्तामै उपभोक्ता महँगी अचाक्ली वृद्धि भइसकेको तथ्याङ्कमै देखिँदासमेत यी टोलीहरुको प्रभावकारिता भने देखिएको छैन ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

हिमालयन ८०-२० म्युचुअल फण्डको लाभांश घोषणा

हिमालयन क्यापिटलले संचालन गरेको हिमालयन ८०-२० म्युचुअल फण्डले लाभांश...

मुक्तिनाथ क्यापिटलको साधारणसभा आह्वान, ५ प्रतिशत लाभांश प्रस्ताव

मुक्तिनाथ क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ५१ लाख सहयोग, कर्मचारीबाट थप ११ लाख संकलन

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले भोटेकोशी बाढी प्रभावितका लागि सरकारमार्फत ५१...

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा १ करोड १ लाख सहयोग

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट...

नेरूडे मिर्मिरे लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा २८ लाख २० हजार सहयोग

भोटेकोशी लगायत विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा प्राकृतिक...