नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकको Information Security (IS) र Cloud Audit को लागि योग्य कम्पनी सर्टलिस्ट गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को लागि Information Security (IS) अडिटको लागि ५ कम्पनी र Cloud Audit को लागि ४ कम्पनी सर्टलिस्ट गरेको हो।
प्राधिकरणले २०८२ माघ ७ गते सूचना जारी गर्दै योग्य रहेका Information Security (IS) अडिटर र Cloud अडिटरको लागि रोस्टरमा सहभागी हुनको लागि प्रस्ताव आह्वान गरेको थियो । प्राधिकरणले प्राप्त आवेदनहरु मध्येबाट योग्य देखिएका कम्पनीलाई रोस्टरमा सहभागी गराउंदै योग्य ठहर गरेको हो।
यसरी Information Security (IS) को लागि योग्य हुने कम्पनीमा Biz Serve IT Pvt. Ltd., Cryptogen Nepal Pvt. Ltd., Eminence Ways Pvt. Ltd, GreenTick Nepal Pvt. Ltd. र R.S.M. Alpha Private Limited गरि ५ कम्पनी रहेका छन् । त्यस्तै Cloud Audit को लागि योग्य कम्पनीमा Biz Serve IT Pvt. Ltd., Cryptogen Nepal Pvt. Ltd., GreenTick Nepal Pvt. Ltd. , र R.S.M. Alpha Private Limited रहेका छन् ।
अब प्राधिकरणबाट लाईसेन्स लिएका टेलिकम सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकले यी कम्पनीमध्येबाट नै Information Security (IS) र Cloud Audit गर्नु पर्ने हुन्छ । अडिटको प्रतिवेदन प्राधिकरणलाई समेत बुझाउनु पर्ने व्यवस्था छ ।
दूरसञ्चार प्रणालीमा हुन सक्ने सम्भावित साइबर जोखिमहरु न्यूनीकरण गरी दूरसञ्चार सेवालाई थप सुरक्षित तथा भर पर्दो बनाउन सबै दूरसञ्चार सेवा प्रदायकहरुले आफ्ना दूरसञ्चार तथा सूचना प्रविधिसंग सम्बन्धित प्रणालीहरुको नियमित रुपमा अनिवार्य अडिट गर्नु पर्ने व्यवस्था साइबर सुरक्षा विनियमावली २०७७ मा रहेको छ । यस्तो अडिट वार्षिक रुपमा गर्नु पर्ने व्यवस्था विनियमावलीले गरेको छ ।
विनियमावलीले व्यवस्था गरे पनि अधिकांश सेवा प्रदायकले यस्तो अडिट गर्ने गरेका थिएनन् । अब भने प्राधिकरणले यसलाई कडाईका साथ पालना गर्न लगाउने तयारी गरेको छ।












