विगतको परम्परा तोड्दै सरकारले विभिन्न मुलुकहरूका लागि नेपालको राजदूत पदमा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट पहिलो पटक दरखास्त/सिफारिस आह्वान गरेको छ। नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्द्धन गर्नका लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालयले दरखास्त/सिफारिस आह्वान गरेको हो।
परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीति र कूटनीतिलाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालयले पहिलो पटक खुला प्रतिस्पर्धाका आधारमा विभिन्न मुलुकहरूमा नेपालको राजदूत पदका लागि योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन तथा सिफारिस आह्वान गरेको बताएका छन्। उनले नेपालको हितका लागि अन्तर्राष्ट्रिय मञ्चमा योगदान गर्न सक्ने योग्य व्यक्तिहरूलाई यस अवसरको सदुपयोग गर्न आग्रह गरेका छन्।
यस नियुक्ति प्रक्रिया अन्तर्गत इच्छुक तथा योग्य उम्मेदवारहरूले स्वयम्ले पनि आफ्नो दरखास्त पेश गर्न सक्नेछन् साथै अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ। राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को अधीनमा रही तयार गरिएको वेबसाइटमा उपलब्ध कार्यशर्त (TOR) बमोजिमको आवश्यक योग्यता पुगेका उम्मेदवारहरूको सिफारिस गर्न सकिनेछ।
तोडियो परम्परा
यस अघि परराष्ट्र सेवाका कर्मचारीको साथै राजनीतिक दलहरुबाट पनि राजदुत नियुक्त हुने गरेका थिए । राजनीतिक दलले पार्टीहरुबीच भागवण्डा नै गरेर राजदुत बाँडफाँड गर्ने गरेका थिए। धेरै राजनीतिक नियुक्ति भएका राजदूतहरूलाई अंग्रेजी भाषा कमजोर, कूटनीतिक प्रोटोकल नजानेको, अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान नभएको भन्दै आलोचना हुने गरेको थियो।
केही राजदूतहरूले मिडिया र सार्वजनिक कार्यक्रम मा गल्ती गरेको, भ्रमणमा अनावश्यक खर्च गरेको, वा होस्ट देशसँग राम्रो सम्बन्ध बनाउन नसकेको आरोप लाग्ने गरेको थियो। नातावाद र पार्टी चाकरी — योग्यताभन्दा पार्टीको नजिकको व्यक्ति नियुक्त भएको, केही राजदूतले दूतावासको बजेट दुरुपयोग गरेको , सरकार बदलिएपछि राजनीतिक राजदूतहरूलाई फिर्ता बोलाउने गरेको, केही नियुक्तिले नेपालको छवि बिगारेको भन्ने टिप्पणी पनि हुने गरेको थियो। अब भने विगतका त्यस्ता अभ्यास र परम्परा तोकिएको छ।
खुला प्रतिस्पर्धाबाट राजदुत नियुक्तिको लागि मन्त्रालयले निम्न १५ प्रकारका योग्यता तोकेको छ
१. नेपाली नागरिक हुनुका साथै कम्तीमा ३५ वर्ष उमेरको हुनुपर्नेछ।
२. नेपाल सरकारले मान्यता दिएको विश्वविद्यालयबाट न्यूनतम स्नातक (Bachelor’s degree) तहको शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ।
३. सरकारी सेवाबाट बर्खास्त नभएको वा भविष्यमा सरकारी रोजगारीका लागि अयोग्य घोषित नभएको हुनुपर्नेछ।
४. कुनै विदेशी देशको स्थायी वा अस्थायी बसोबास अनुमति (residency permit) वा अध्यागमन सुविधा प्राप्त नगरेको हुनुपर्नेछ।
५. भ्रष्टाचार वा नैतिक पतनसम्बन्धी कुनै अपराधमा अदालतबाट दोषी ठहर नभएको हुनुपर्नेछ।
६. नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा द्विपक्षीय/बहुपक्षीय कूटनीतिमा अनुभव भएको र नेपालको प्रतिनिधित्व गर्न सक्षम हुनुपर्नेछ।
७. पदाधिकारी नियुक्त हुने देश वा संगठनको मुख्य कार्यसम्पादनसँग सम्बन्धित ज्ञान र/वा अनुभव भएको हुनुपर्नेछ।
८. अंग्रेजी भाषाको राम्रो कमान्ड (good command) भएको हुनुपर्नेछ। (आतिथ्य देशको आधिकारिक भाषाको ज्ञान थप लाभदायक मानिनेछ।)
९. प्रस्तावित पदस्थापन देशमा कुनै प्रकारको हित द्वन्द्व (conflict of interest) वा व्यक्तिगत स्वार्थ नभएको हुनुपर्नेछ।
१०. हाल अन्तर्राष्ट्रिय वा विदेशी सहायताबाट सञ्चालित कुनै गैरसरकारी संस्थामा कार्यरत नभएको हुनुपर्नेछ।
११. उच्च नैतिक चरित्र र नैतिक मर्यादा भएको हुनुपर्नेछ।
१२. अत्यन्त चुनौतीपूर्ण र दबाबपूर्ण स्थितिमा काम गर्न सक्ने मानसिक र शारीरिक resilience (लचकता/सहनशीलता) भएको हुनुपर्नेछ।
१३. नेपाल सरकार वा अन्तर्राष्ट्रिय निकायहरूले राखेको कुनै कालोसूची (blacklist) मा नरहेको हुनुपर्नेछ।
१४. यदि पहिले कुनै विदेशी राज्यबाट तलबी पदमा नियुक्त भएको भए, त्यसबाट अलग भएको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्नेछ।
१५. भियना महासन्धि (Vienna Convention on Diplomatic Relations and Consular Relations) तथा सम्बन्धित अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासहरूको ज्ञान भएको हुनुपर्नेछ।
मन्त्रालयले यी बाहेक अन्य केही योग्य तोकेको छ, जुन भएमा आवेदक प्राथमिकतामा पर्ने सम्भावना बलियो हुने बताएको छ । प्राथमिकता दिइने योग्यता तथा क्षमताहरू निम्न अनुसार तोकिएको छ ।
१. शिक्षा तथा विशेषज्ञता
-अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीतिशास्त्र, कानून, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर (Master’s वा उच्च) डिग्री।
-कूटनीति, अन्तर्राष्ट्रिय व्यापार वा बहुपक्षीय वार्तामा विशेष प्रशिक्षण वा प्रमाणपत्र।
-नेपालको विदेश नीतिसँग सम्बन्धित क्षेत्रमा शैक्षिक प्रकाशन, अनुसन्धान वा महत्वपूर्ण योगदान।
२. व्यावसायिक अनुभव
-सरकारी, कूटनीतिक, निजी क्षेत्र वा अन्तर्राष्ट्रिय संस्थामा leadership पदमा उल्लेखनीय अनुभव।
-द्विपक्षीय/बहुपक्षीय वार्ता, सन्धि निर्माण तथा अन्तर्राष्ट्रिय कानुनी ढाँचासँग सम्बन्धित प्रमाणित उपलब्धि।
-प्रस्तावित देश वा क्षेत्रमा पूर्व नियुक्ति वा काम गरेको अनुभव फाइदाजनक।
-व्यापार प्रवर्धन, लगानी सहजीकरण वा आर्थिक कूटनीतिमा अनुभव।
-संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय वित्तीय संस्था तथा क्षेत्रीय संगठन (SAARC, BIMSTEC आदि) को ज्ञान।
३. नेतृत्व तथा व्यवस्थापन
-जटिल तथा बहुसांस्कृतिक वातावरणमा टोलीको नेतृत्व, प्रेरणा र व्यवस्थापन गर्ने क्षमता।
-रणनीतिक सोच, योजना निर्माण र प्रभावकारी निर्णय लिने क्षमता।
-आर्थिक व्यवस्थापन र प्रशासनिक अनुभव।
४. सञ्चार तथा अन्तरव्यक्तिगत सीप
-नेपाली र अंग्रेजी भाषामा उत्कृष्ट लिखित तथा मौखिक सञ्चार क्षमता। आतिथ्य देशको भाषाको ज्ञान ठूलो फाइदा।
-उच्च सरकारी अधिकारी, राजनीतिक नेता, व्यवसायी, नागरिक समाज तथा कूटनीतिक समुदायसँग सम्बन्ध निर्माण र कायम गर्ने क्षमता।
-मिडिया र सार्वजनिक कूटनीतिमा अनुभव।
५. व्यक्तिगत गुणहरू
-उच्चतम अखण्डता, निष्ठा र व्यावसायिकता।
-राजनीतिक निर्णय क्षमता र अन्तर-सांस्कृतिक संवेदनशीलता।
-अनुकूलनशीलता, resilience र चुनौतीपूर्ण अन्तर्राष्ट्रिय वातावरणमा काम गर्ने इच्छा।
-समावेशी शासन, लैङ्गिक समानता र दिगो विकासप्रतिको प्रतिबद्धता।
सम्भावित उम्मेदवारहरूको आवेदन/सिफारिस गर्दा मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध फारममार्फत विस्तृत व्यक्तिगत विवरण (CV/Bio-data) लगायतका कागजातहरू पेश गर्नुपर्नेछ वा इमेल ठेगानामा सम्पर्क पनि गर्न सकिनेछ।
दरखास्त/सिफारिस बुझाउने अन्तिम मितिः २०८३ जेठ २२ (५ जुन २०२६) अपरान्ह १७:०० बजेसम्म रहेको छ । मन्त्रालयका अनुसार रीत नपुगेका वा तोकिएको म्याद नाघी आएका आवेदनहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन। मन्त्रालयले प्राप्त आवेदन तथा सिफारिसहरूबाट प्रारम्भिक सूची तयार गरी योग्यता र उपयुक्तताका आधारमा उम्मेदवारहरूको सर्टलिस्ट (shortlist) गर्नेछ। सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिने मन्त्रालयले जनाएको छ।












