प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्विरोध निर्वाचित भएका छन् । सभामुख पदको लागि शुक्रबार मनोनयन दर्ताको लागि आह्वान गरिएकोमा निर्धारित समयमा उनको मात्र उम्मेदवारी परेको थियो।
आजको प्रतिनिधिसभा बैठकमा सभामुख निर्वाचनको औपचारिक प्रक्रिया भएको हो। आजको बैठकमा रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्सालले समर्थन गरेका थिए ।
एक मात्र प्रस्ताव पेश भएकोले बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले सभामुख पदमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । अब अर्को बैठकको अध्यक्षता सभामुखको हैसियतमा अर्यालले गर्ने छन् ।
अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति हुन् । उनी काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित भएका थिए। सभामुखमा निर्वाचित भएसंगै उनले पार्टीबाट भने राजीनामा दिनु पर्ने छ।













