शुक्रबार रातीदेखि आइतबार बिहानसम्म परेको अविरल वर्षाका कारण बीपी राजमार्ग पूर्ण रुपमा अवरुद्द बनेको छ । गत वर्ष असोजको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग डाइभर्सन बनाएर चलाइएको भएपनि यसवर्ष फेरी बाढीले कटान गरेको हो ।
डिभिजन सडक कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीका अनुसार सिन्धुलीको नेपालथोकदेखि काभ्रेको चौकीडाँडासम्म करिब ४.५ किलोमिटर डाइभर्सन रोशी खोलाको बाढीले बगाएको छ । डिभिजन सडक कार्यालय भक्तपुरको कार्यक्षेत्रमा पर्ने काभ्रेको चौकीडाँडादेखि बर्खेखोलासम्म मात्रै १६ ठाउँमा डाइभर्सन बगेको छ ।
डिभिजन सडक कार्यालय खाल्टेको कार्यक्षेत्रमा पर्ने बर्खेखोलादेखि नेपालथोकसम्म ३ ठाउँमा सडक बगेको छ । डिभिजन सडक कार्यालय खाल्टेका सूचना अधिकारी सुदर्शन उप्रेतीका अनुसार गत असोजको बाढीले बगाएपछि बनाइएको डाइभर्सनमध्ये करिब ८ सय मिटर डाइभर्सन यसपाली पनि बगेको छ ।
तर, बन्द रहेको सडक खुलाउनका लागि काम सुरु गर्न सकिएको नसकिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । यसकारण कहिलेबाट राजमार्ग सूचारु हुन्छ भन्ने यकिन छैन । यद्यपी, सडक डिभिजन भक्तपुरले ७२ घण्टाभित्र राजमार्ग सञ्चालनमा ल्याउने गरी काम थाल्ने योजना बनाएको छ । तर, अहिलेसम्म रोशीको बाढी कम नभएकाले काम सुरु हुन भने सकेको छैन ।