सरकारले असोज १९ गते आइतबार र असोज २० गते सोमबार नेपालभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुवान, भू-क्षय लगायतका जोखिमको साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतीसमेत हुनसक्ने सम्भावनालाई मध्यनजर गरी २०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरु बाहेक नेपाल राज्यभर सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
उक्त अवधिभर अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन सबै नागरिकसँग मन्त्रालयले अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ । देशका विभिन्न भागमा वर्षा समेत भैरहेको हुँदा विशेष सतर्कता अपनाउन मन्त्रालयले अनुरोध गरेको छ।