नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) टि २० क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स च्यानलबाट हुने भएको छ । क्यानले आज पत्रकार सम्मेलन गरेर स्टार स्पोर्ट्सबाट प्रतियोगिताका सबै खेलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो ।
भारतको स्टार स्पोर्ट्स खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन च्यानल हो। स्टार स्पोर्ट्सले इन्डियन प्रिमियर लिग आईपीएलका साथै अन्तराष्ट्रिय क्रिकेट काउन्सील आइसीसीका प्रतियोगिताहरु र अन्य खेलकुद प्रतियोगिताहरु लाइभ गर्ने गर्छ । कति रकममा सम्झौता भएको हो भन्ने विवरण क्यानले खुलाएको छैन ।
त्यस्तै एनपीएलको टाईटल स्पोनसर सिद्धार्थ बैंक रहने भएको छ । सिद्धार्थ बैंकले ५ वर्षको लागि एनपीएलको टाइटल स्पोन्सरको रुपमा सम्झौता गरेको हो । क्यान यस सम्झौताको रकम पनि गोप्य राखेको छ।
मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। ८ टिम रहने प्रतियोगितामा विदेशी खेलाडी पनि सहभागी हुनेछन् ।
क्यानले पहिलोलोपटक आफ्नै व्यवस्थापनमा फ्रेञ्चाइज लिग आयोजना गर्न लागेको हो। यसअघि क्यानले नेपाल टी-२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्रीसँग गरेको सम्झौता विवादमा परेको थियो।












