काठमाडौँ महानगरपालिकाले काठमाडौँका विभिन्न ३ स्थानमा साफ वुमन्स च्याम्पियनसिप (साउथ एशियन फुटबल फेडेरेसन वुमन्स कप) २०२४ को फाइनल खेल देखाउने भएको छ । महानगरले टुँडिखेल, चावहिल फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ) फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।
फाइनल खेलमा आज नेपाली महिला फुटबल टिमले वंगालादेश विरुद्ध प्रतिस्पर्धा गर्दैछ । यो खेल हेर्न धेरै दर्शकहरुलाई चाहना भए पनि खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन रहेकोले खेलको प्रत्यक्ष प्रसारण गर्न लागिएको महानगरले जनाएको छ ।
महानगरले भनेको छ ‘हामीले खेलमैदानमा पुग्न नसक्ने तर खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउँदैछौँ ।’
खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान फुटबल खेलप्रेमी दर्शकहरुलाई महानगरले अनुरोध गरेको छ।