Friday, April 10, 2026
spot_img
spot_img

नयाँ सरकार, नयाँ बजेट र नयाँ आर्थिक वर्ष

spot_img
spot_img

नयाँ आर्थिक वर्ष २०८१/०८२ सुरु भएको छ । सरकारले आर्थिक वर्ष ०८१/०८२ का लागि जेठ १५ गते नै बजेट ल्याइसकेको छ । बजेटले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने, मुद्रास्फितिलाई ५.५ प्रतिशतमा सिमिति राख्ने र १२ खर्ब ६० अर्ब राजस्व संकलन गर्ने मुख्य उदेश्य राखेको छ । यो उदेश्य पूरा गर्न बजेटले सोही अनुरुपका कार्यक्रम पनि प्रस्तुत गरेको छ ।

नयाँ आर्थिक वर्ष सुरु भइसकेको अवस्थामा सरकारले मुलुकलाई आत्मनिर्भर बनाउन र आर्थिक स्थायित्व कायम हुने गरि हाल भइरहेको ढिलासुस्तीलाई सुधार गर्नुपर्छ । मुलुक प्राकृतिक सम्पदामा धनी हुँदाहुँदै पनि हामीले यो क्षेत्रको खास उपयोग गर्न सकेका छैनौँ । निजी क्षेत्रले प्राकृतिक स्रोत साधनलाई ‘बचाउँदै–उपयोग गर्दै’को नीति चाहिन्छ भन्दै आएको छ । हामीसँग भएका खनिज, वन पैदावर (जडिबुटीसमेत)को उपयोग गर्ने हो भने आयात प्रतिस्थापन गर्दै जान सकिन्छ भन्ने विषय निजी क्षेत्रले वर्षौदेखि उठाउँदै आएको छ ।

जेठ १५ गते बजेट प्रस्तुत गर्दै निवर्तमान अर्थमन्त्री वर्षमान पुनले राजस्व लक्ष्य बढी राख्नुभएको छ । आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यको २५ प्रतिशतभन्दा कम मात्रै राजस्व उठेको छ । २०७९/०८० मा पनि राजूव संकलन २० प्रतिशत हाराहारीले नकारात्मक थियो । यस्तो अवस्थामा २०८१/०८२ मा पनि २०८०/०८१ मा संकलन भएको राजस्वलाई हेरेर पूरा हुन सक्ने मात्रै लक्ष्य लिनुपर्नेमा यतातर्फ ध्यान नदिई लक्ष्य मात्रै बढाउने काम भएको छ । जुन निकै चुनौतिपूर्ण छ ।

अर्को कुरा, करको दर हरेक वर्ष तिर्दै आएको क्षेत्रलाई वर्षैपिच्छे थप्दै जाने हाम्रो पूरानो चलन छ । यो ठिक होइन । दायरा विस्तार गर्दै नयाँ नयाँ क्षेत्र पहिचान गर्दै जानुपर्नेमा त्यसो गरिँदैन । जसका कारण अनौपचारिक अर्थतन्त्र बढ्दै गएको छ । अहिले ४० प्रतिशत हाराहारी अनौपचारिक अर्थतन्त्र छ भनिन्छ । सबैलाई करको ‘बास्केट’मा राखेर कर तिर्नु भनेको मुलुकका लागि योगदान गर्नु हो भनेर बुझाउनै पनि सकिएको छैन । नयाँ सरकारले नयाँ आर्थिक वर्षको सुरुवातबाटै यसतर्फ बढी ध्यान दिन सकोस् भन्ने हाम्रो चाहना छ ।

सँगै, सरकार फेरिनासाथ आर्थिक नीतिहरु पनि फेरिने समस्या हामीले झेल्दै, भोग्दै आएका छौँ । नीतिगत स्थिरताको अभावमा निजी क्षेत्रले लगानी विस्तार गर्न सकिरहेको छैन । बाह्य लगानी पनि भित्रिन सकिरहेको छैन । राम्रा नीतिहरु जुनसुकै सरकारले लिएको भएपनि त्यसको निरन्तरता हुनुपर्छ । तिनलाई तोडमोड गरिनु हुँदैन । यसले निजी क्षेत्रको मनोबल बढ्छ र लगानी विस्तार हुन्छ । जसबाट रोजगारी र राजस्वमा योगदान हुन्छ । नयाँ सरकारले यतातर्फ पनि विचार गर्नुपर्छ ।

राष्ट्र बैङ्क आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति तर्जुमा गर्दैछ । सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि र महँगीलाई ५.५ प्रतिशतमा सिमित राख्ने लक्ष्य लिएको अवस्थामा यो लक्ष्यलाई सघाउनु केन्द्रीय बैङ्कको प्रमुख दायित्व हो । सँगै, अहिले राष्ट्र बैङ्ककै कतिपय प्रावधानका कारण लगानी विस्तार हुन नसकेको, बैङ्कबाट कर्जा प्रवाह हुन नसकेको जस्तो देखिएको छ । उद्यम व्यवसाय बढाउने दायित्व राष्ट्र बैङ्कको पनि हो । अहिले ५० लाख माथिको शेयर धितो कर्जा र घरजग्गा कर्जाको जोखिमभार १२५ प्रतिशत छ । यसलाई घटाएर १०० प्रतिशतमा कायम गर्नुपर्छ । यसो हुँदा बैङ्कमा थुप्रिएको पैसा बजारमा आउँछ र त्यसले अरु क्षेत्रलाई चलायमान बनाउँछ । उद्योगधन्दा चलायमान हुँदै जाँदा अर्थतन्त्र पनि लयमा फर्किन थाल्छ ।

केन्द्रीय बैङ्कले सकेसम्म ब्याजदर एकल अङ्कमा स्थिर रहने टुल्सहरुको प्रयोग गर्नुपर्छ । ब्याजदरको स्थायित्व पनि लगानी विस्तारका लागि आवश्यक हुन्छ । अहिले ब्याजदर क्रमशः घटिरहेको भएपनि यसको स्थायित्वमा शंका छ ।

साथै, हामीले राजनीतिक लाभ हानी मात्रै हेरेर नीतिहरु बनाउँदा त्यसबाट मुलुकले फड्को मार्न सक्दैन । १५औँ पञ्चवर्षीय योजनाको समाप्ती हुँदा उक्त योजनाले लिएका लक्ष्यहरु समग्रमा १० प्रतिशत जस्तो मात्रै पूरा भएका छन् । यदि हामीले नीति कार्यक्रम बनाउँदा, बजेट बनाउँदा, मौद्रिक नीति बनाउँदा पञ्चवर्षीय योजनालाई केन्द्रमा राखेका हुन्थ्यौ भने आज त्यसको नतिजा यति कमजोर हुँदैनथ्यो । यसकारण अब १६औँ योजनाको पनि कार्यान्वयन आरम्भ भएको छ । अब सरकारले १६औँ योजनालाई हेरेर नीति बनाउने, कार्यक्रम बनाउने र लागू गर्ने काम गर्नुपर्छ । १६औँ योजना केन्द्र, प्रदेश र स्थानीय तह गरि तीनै तहका सरकारका लागि हो । यो कार्यान्वयन गर्ने दायित्व पनि तीनै तहका सरकारको हो ।

अहिले हामीले जति नै भौतिक विकास, आर्थिक समृद्धिका कुरा गरेपनि विकास बजेट २० प्रतिशत हाराहारी मात्रै विनियोजन हुँदै आएको छ । विनियोजन भएको बजेट पनि पूरै खर्च हुन सकिरहेको छैन । अब जसरी हुन्छ विकास बजेट शत् प्रतिशत खर्च हुने गरि ‘टाइम बाउण्ड एक्सन प्लान’ बनाएर सरकारले काम गर्नुपर्छ । चालु खर्चका लागि ८० प्रतिशत र विकास खर्चका लागि २० प्रतिशत बजेट छुट्याइन्छ । विकास खर्चका लागि छुट्याइएको बजेटको स्रोतमा विदेशी ऋण र अनुदानलाई देखाइएको हुन्छ । अनुदान त यसै पनि कम छ, ऋणको मात्रा बढी छ । लिएको ऋण पनि देशलाई गति दिने आयोजनामा वा उत्पादनका क्षेत्रमा खर्च गर्नुको सट्टा चालु खर्चकै लागि प्रयोग गर्नुपर्ने बाध्यता छ । यस्तो परिपाटीलाई मैले ‘ऋण लिएर घ्यू खाने प्रवृत्ति’ भन्ने गरेको छु । यस्तो प्रवृत्तिको सुधार हुनैपर्छ । यसका लागि प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नर वा सबै सरोकारवालाको सामूहिक योगदान देशले खोजेको छ ।

मलाई आशा छ, नयाँ सरकारले नयाँ आर्थिक वर्षको सुरुवातबाटै चालु खर्चमा मितव्ययिता अपनाउँदै पूर्वाधार विकासमा जोड दिनेछ र नीतिगत स्थिरताको प्रत्याभूति दिलाउँदै लगानीको वातावरण बनाउनेछ ।

(नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लसँगको कुराकानीमा आधारित)

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२२९ भोट सहित २५ वर्षिया रुवीकुमारी उपसभामुख निर्वाचित

प्रतिनिधिसभाको उपभामुख पदका रुवीकुमारी ठाकुर निर्वाचित भएकी छिन् ।...

ऋणपत्र निष्काशनको अनुमति माग्दै प्राइम कमर्शियल बैंकले दियो आवेदन

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल...

नागरिक एपमा एक हप्ताभित्रै यी ३ सेवा थपिँदै

सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष...

अब घरबाटै पेन्सन पाउन सकिने, बैंक जानु पर्ने बाध्यता हट्यो

सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूको निवृत्तभरण व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यलाई...

उपसभामुखको निर्वाचनमा एमालेले कसैलाई पनि मतदान नगर्ने

प्रतिनिधिसभाको उपभामुख पदको निर्वाचनमा नेकपा एमालेले मतदान नगर्ने भएको...

नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर...
spot_img