आँखुखोला जलविद्युत कम्पनीले साउन २७ गतेदेखि हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले १:१.५ को अनुपातमा १५० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद निष्काशन गरेको हो । कम्पनीले १ अर्ब २० करोड बराबरको हकप्रद निष्काशन गरेको छ ।
यस शिलशिलामा बिजनेशपाना डटकमले कम्पनीले सञ्चालन गरिरहेको आयोजनाको अवस्था, कम्पनीको वित्तीय अवस्था, भावी योजना लगायतका विविध विषयमा कम्पनीका अध्यक्ष राम श्रेष्ठसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
कम्पनीले सञ्चालन गरिरहेको आयोजनाको अवस्था कस्तो छ ?
कम्पनीले हाल धादिङ जिल्लामा ८.४ मेगावाट क्षमताको आँखुखोला–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । आयोजनले २०७० भाद्र ८ गतेदेखि व्यापारिक विद्युत उत्पादन प्रारम्भ गरेको हो । आँखुखोला—१ बाट उत्पादन भएको विद्युत धादिङ्गबेसी सबस्टेशनमा मुख्य मिटर र चेक मिटर जडान गरी विद्युत बिक्रीको युनिट गणना गर्ने व्यवस्था रहेको छ ।
अहिले वर्षातको समयमा नदीमा पानी पर्याप्त रहेको छ, र पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिन्छ । तर, हाल नेपाल विद्युत प्राधिकरणले उसको प्रशारण लाइनमा एउटा उपकरण जडान नगरीदिँदा अहिले हामीले तीन वटा युनिटमध्ये दुई वटा मात्र युनिट चलाइरहेका छौँ । सोहि कारण अहिले विद्युत उत्पादन घटेको छ । यो दीर्घकालीन समस्या भने होइन । प्राधिकरणले उपकरण जडान गरेसँगै यसअघि जस्तै तीन वटै युनिटबाट विद्युत उत्पादन हुन्छ ।
आयोजना निर्माण सम्पन्न भएको १० वर्ष पुरा भइसकेकोले मर्मत सम्भारको कार्य पनि नियमित भइरहेको छ । समग्रमा आयोजनाको अवस्था सन्तोषजनक नै रहेको छ ।
कम्पनीले विद्युतको व्यवसायिक उत्पादन गरेको १० वर्ष पूरा भइसकेको छ, आँखुखोला जलविद्युत कम्पनीको वित्तीय अवस्था चाहिँ कस्तो छ ?
बिजुली उत्पादन भएको १० वर्ष पुरा भईसक्दा पनि अहिलेसम्म एक पटक पनि लाभांश वितरण गर्न सकिएको छैन । निर्माण चरणमा देखिएको उच्च लागत र निर्माण सम्पन्न भएपछिका प्रशारण लाइन लगायतका समस्याले नाफामा लैजान र लाभांश वितरण गर्न नसकिएको हो । तर, खर्च भने धानिरहेको छ । बैंकको ब्याज नियमित तिरिरहेका छौ, कर्मचारीलाई तलब नियमित खुवाइरहेका छौ । सञ्चालन खर्च आयोजनाबाट नै उठिरहेको छ, सञ्चालन खर्च धान्नका लागि अन्य स्रोतको भर पर्नुपर्ने अवस्था छैन ।
वार्षिक रुपमा विद्युत बिक्रीबाट २० देखि २२ करोड आम्दानी हुन्छ । तर, गत आर्थिक वर्षमा पानी कम परेको, तथा प्राधिकरणको प्रशारण लाइनमा समस्या देखिएकोले गत आर्थिक वर्षको विद्युत बिक्रीको आम्दानी केही कम हुनेछ ।
२०८१ असार मसान्तसम्मको विवरण अनुसार कम्पनीले तिर्नुपर्ने ऋण १ अर्ब २२ करोड रहेको छ । आयोजना निर्माण सम्पन्न हुँदा कम्पनीको कुल ऋण १ अर्ब ५९ करोड थियो । अहिले घटेर १ अर्ब २२ करोडमा सिमित भएको छ ।
कम्पनीले अहिले हकप्रद निष्काशन खुला गरिरहेको छ, हकप्रदबाट आउने रकम कम्पनीले कहाँ कहाँ खर्च गर्छ ?
हकप्रद बिक्रीबाट १ अर्ब २० करोड रकम उठ्छ । जसमध्ये ४० करोड रकम आयोजनाको ऋण तिर्न प्रयोग गरिने छ । बाँकि ८० करोड रकम आँखुखोला–२ जलविद्युत परियोजनामा लगानी गरिने छ । यसरी हामीले हकप्रदको रकमबाट ऋण घटाउने र दुई आयोजनाको औसत प्रति मेगावाट लागत २२.३३ करोड कायम गर्नेछौँ ।
आँखुखोला–२ कस्तो आयोजना हो ?
यो गणेश हिमाल हाईड्रोपावर लिमिटेडद्धारा प्रवद्र्धित आयोजना हो, यसको क्षमता २० मेगावाट रहेको छ । आँखुखोला–२ जलविद्युत आयोजना धादिङ्ग जिल्लास्थित गङ्गा जमुना, खनियाँबास र नेत्रावती गाउँपालिका गरी ३ वटा गाउपालिकाको बीचमा पर्दछ । यो आयोजना हाल हामीसँग रहेको आँखुखोला–१ जलविद्युत आयोजनाको सबैभन्दा नजिकमा रहको आयोजना भएको हुँदा हाम्रो लागि अन्य आयोजना भन्दा व्यवस्थापनको हिसाबले उपयुक्त रहेको आयोजना हो ।
उक्त आयोजनाको जलाधार क्षेत्र र हाम्रो आँखुखोला–१ जलविद्युत आयोजनाको जलाधार क्षेत्र एउटै रहेको कारण पनि उक्त आयोजनाको जिवोलोजी तथा हाइड्रोलोजीसँग हामी धेरै हदसम्म परिचित पनि छौँ । सो कारण उक्त आयोजना निर्माण हाम्रो लागि केही सहज हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ । उक्त आयोजना नदीको प्रहावमा आधारित (रन अफ रिभर) प्रकारको आयोजना हो ।
उक्त आयोजना र आँखुखोला जलविद्युत कम्पनीबीच कम्तिमा ६० प्रतिशत लगानी गर्ने सम्झौता भईसकेको छ । आयोजनाबाट वार्षिक सरदर ११५.५२ गिगावाट घण्टा विद्युत उत्पादित भई नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने गरी पीपीए सम्झौता भइसकेको छ ।
आयोजनाबाट उत्पादित विद्युत १३२ केभी प्रशारण लाइनमार्फत २५ किलोमिटर लामो दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको प्रस्तावित त्रिशुली–३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रशारण प्रणालीमा समाहित गरिनेछ । आयोजनाबाट २०८५ साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
आँखुखोला–२ को लागत अनुमान कति छ ? लगानी मोडालिटी कस्तो छ ?
आँखुखोला–२ आयोजनाको कुल लागत ३ अर्ब ९१ करोड ४१ लाख अनुमान गरिएको छ, । जुन प्रति मेगावट लागत १९ करोड ५७ लाख हुनेछ ।
कुल लागतमध्ये ७० प्रतिशतले हुने रु. २७४ करोड बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी रहने र रु. ११७.४१ करोड स्वपूँजी लगानी हुनेछ । कुल स्वपूँजी लगानी मध्येबाट आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले कम्तिमा ६० प्रतिशत (रु. ८० करोड) र बाँकी लगानी अन्य संस्थापक तथा सर्वसाधारणलाई जारी हुने शेयरबाट प्राप्त रकमबाट लगानी गरिनेछ । आयोजनालाई आवश्यक जग्गा खरीदको प्रक्रिया शुरु भएको छ ।
कम्पनीले करिब ६० प्रतिशत हिस्सा लिएर बनाउन लागेको यो आयोजनाबाट कहिलेदेखि आम्दानी हुने प्रक्षेपण गरिएको छ ?
आँखुखोला २ जलविद्युत आयोजनाबाट वार्षिक ११५.५१७ गेगावाट घण्टा विद्युत शक्ति उत्पादन हुनेछ । सो विद्युत बिक्रीबाट कम्पनीलाई पहिलो वर्षमा रु. ६२.१९ करोड आम्दानी हुनेछ । आयोजनाको विद्युत बिक्रीदर वर्षायामका लागि रु. ४.८० र सुख्यायामका लागि रु. ८.४० तय भएको छ । यो मूल्य दर ८.४ महिनाको हुने गरी बैशाख १ देखि मंसिर ३० सम्मलाई वर्षायाम र पौष १ देखि चैत्र ३० सम्मलाई सुख्यायाम कायम भएको छ ।
यो आयोजनाले ३ प्रतिशतका दरले ८ वर्ष सम्मका लागि मूल्य वृद्धिदर प्राप्त गर्नेछ । बैंकबाट लिएको परियोजना ऋण कर्जा १२ वर्ष भित्र चुक्ता भुक्तानी गर्नेछ । आयोजनाको साधारण ऋण फिर्ता अवधि ६.४१ वर्षको रहेको छ । आयोजनाको Internal Rate या Return (IRR) १५.३९ प्रतिशत रहेको छ । यस आयोजनाले व्यवसायिक उत्पादन शुरु गरेको पहिलो वर्ष देखि नै शेयरधनीहरुलाई लाभांश वितरण गर्न सक्छ ।
डिम्याट नभएकाहरुले हाल निष्काशनमा रहेको हकप्रदमा कसरी आवेदन दिन सक्छन् ?
डिम्याट नभएको तर हकप्रद भर्न योग्य व्यक्ति काठमाडौँमा हुनु हुन्छ भने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टको नक्सालस्थित कार्यालयमा गएर हकप्रदमा आवेदन दिन सक्ने व्यवस्था छ ।
धादिङमा रहेका स्थानीयको हकमा प्राइम कमर्सियल बैंक धादिङबेसी, प्रभु बैंक धादिङ, माछापुच्छ्रे बैंक धादिङ र कुमारी बैंक धादिङ शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
अन्य माध्यममार्फत दरखास्त दिन चाहने साविक शेयरधनीहरुले हकप्रद शेयरको बिक्री बन्द हुनु भन्दा अघिको मितिमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको नाममा खिचिएको एकाउण्टपेयी ड्राफ्ट साथ हकप्रद शेयर खरीदका लागि दरखास्त फाराम सिँधै हुलाक वा कुरियरद्धारा नबिल इन्भेष्टमेन्टमा पठाएर पनि आवेदन दिन सक्नुहुनेछ ।
लगानीकर्ताको अपेक्षा नै लाभांश छ, कम्पनीले कहिले लाभांश दिन सक्छ ?
हामीले जुन समयमा आयोजना निर्माण गर्यौ, त्यस समय द्वन्द्वकाल सकिएर शान्ति प्रक्रियामा जाने चरणमा थियो । त्यस्तो अवस्थामा आयोजना निर्माण गर्दा स्थानीयको माग धेरै नै थियो, जसले आयोजनाको लागत बढायो । त्यस्तै आयोजनास्थलमा पुग्ने १६ किलोमिटर प्रशारण लाइन कम्पनी आफैँले निर्माण गरेको हो, यसले पनि लगात बढ्यो । सडक पनि आफैँ निर्माण गर्नु परेको थियो । प्रशारण लाइनको समस्याले उत्पादन भएको जति सबै बिजुली बेच्न सकिएन । हाम्रो आयोजनाको लागत नै बढी भयो । यिनै कारणले गर्दा कम्पनी अझै घाटामा नै छ ।
अब हकप्रद निष्काशन गर्ने र अर्को आयोजनामा लगानी गरेर सेफ ल्याण्ड गर्न खोज्दछौँ । हकप्रद निष्काशन गरेर ४० करोड रकम ऋण घटाउने छौँ । यो ऋण घट्ने बित्तिकै ब्याज खर्च जोगिने छ । हामीले लगानी गर्न लागेको आयोजना अहिलेको भन्दा धेरै सस्तो र राम्रो छ । विगतका अनुभवले पाठ सिकिएको छ । अब नयाँ आयोजना बनेपछि कम्पनीले लाभांश दिन सक्नेछ । हामीसँग अनुभव छ, हामीले गणेश हिमालमा ६० प्रतिशत स्वामित्व लिएर आयोजना निर्माण गर्छौ ।
जलविद्युत आयोजनालाई सरकारले के गर्नु पर्छ ?
जलविद्युत आयोजना निर्माण गर्न कठिन छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट सहयोग भन्दा बढी समस्या छन् । जलविद्युत आयोजना गएपछि जिल्लाका सबै विकास निर्माण त्यहि हाइड्रोले गरिदिनु पर्छ जस्तो गतिविधि हुन्छन् ।
हाइड्रोमा भविष्य छ, यसले हाम्रो देशको विकास हुन्छ, वैदेशिक मुद्रा ल्याउन सहयोग गर्छ, ब्यापार घाटा कम गराउन सहयोग गर्छ । जलविद्युतको लागत घटाउन सके बढी प्रतिफल दिन सकिन्छ । आयोजनाले जति खर्च गर्छ, त्यो सबै आम सर्वसाधारण कै रकम हो भन्ने विषय सबैले बुझ्नु पर्छ । जबसम्म तीनै तहको सरकार, कर्मचारी संयन्त्र र स्थानीयहरुले यो कुरा बुझ्दैनन्, तबसम्म नेपालमा जलविद्युत विकास गर्न कठिन छ ।
यस्तो अवस्थामा पनि प्रवद्र्धकहरुले जलविद्युत आयोजना निर्माण गरिरहेका छन् । यहि नै ठूलो विषय हो ।