दशैँ बिदा पश्चात कारोबार भएको पहिलो दिन नै सुनको भाउले ऐतिहासिक उचाई कायम गर्यो । असोज १२ गते (दशैँ बिदा हुनु अघिल्लो दिन) प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँको किर्तीमानी उचाईमा कारोबार भएको सुनको भाउ असोज १९ गते कारोबार खुल्दा तोलामै ७ हजार ४ सय रुपैयाँले महँगिदै २ लाख ३० हजार ६ सय रुपैयाँ पुगेको छ ।
नेपाली बजारमा सुनको भाउ उकालो लाग्नुमा आन्तरिक कारणभन्दा बाह्य कारण बढी छन् । चालु आर्थिक वर्षको बजेटमार्फत लागू गरिएको २ प्रतिशत विलासिता करबाहेक सुनको भाउ बढ्नुमा आन्तरिक कारण खासै छैनन् । हालको मूल्यमा उक्त करको योगदान जम्माजम्मी ५ हजार मात्रै छ । तर, अन्तर्राष्ट्रिय एवम् बाह्य कारणले सुनको भाउ आकाशिएको छ ।
यी हुन् मुख्य ५ कारण
सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियश रत्न शाक्यका अनुसार ५ मुख्य कारणहरुले सुनको भाउ बढाइरहेको छ । पहिलो कारण हो: शक्ति राष्ट्रका केन्द्रीय बैंकहरुको ब्याजदर नीति । सेप्टेम्बर महिनामा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजरर्भले ०.२५ प्रतिशतले व्याजदर घटाएर ४ देखि ४.२५ प्रतिशतसम्म कायम गरेको छ । अमेरिकाको मुद्रा स्फिति २.९० प्रतिशतले बढेको र जसका कारण बेरोजगारको दर बढ्न थालेपछि त्यहाँको केन्द्रीय बैंकले ब्याजदर घटाएको हो ।
यस्तै, क्यानाडा, बेलायत, युरोपियन युनियन, अष्ट्रेलिया, मेक्सिको, रूस लगायत देशका सेन्ट्रल बैंकले पनि पनि आर्थिक मन्दी सामना गर्न ब्याजदर घटाएका कारण बैंकमा पैसा राख्नुको सट्टा सुनमा लगानी गर्नेहरु बढेको व्यवसायीहरु बताउँछन् । यसले सुनको माग बढाएका कारण मूल्य बढ्न थालेको बताइन्छ ।
दोस्रो कारण हो: भूराजनीति । विश्वका विभिन्न मुलुकबीच युद्ध तथा द्वन्दको अवस्था कायमै रहेका कारण पनि सुनको भाउ बढेको व्यवसायीहरु बताउँछन् । वरिष्ठ उपाध्यक्ष शाक्यका अनुसार रूस–युक्रेन युद्ध रोकिने संकेत नदेखिनु, इजरायल र प्यालेस्टाइनबीचको युद्धमा लेबनान, यमन, इरान लगायतका देशहरु पनि थपिनु र भारत–पाकिस्तान तथा थाइल्याण्ड र कम्बोडियाबीचको केही दिनको द्वन्दले पनि अन्तर्राष्ट्रिय लगानीकर्ताहरुले अन्य क्षेत्रमा लगानी गर्दा असुरक्षित महशुस गरेका कारण सुनमा लगानी गर्न थालेका छन् ।
यस्ता युद्ध तथा द्वन्दको अवस्थाका कारण असुरक्षा पैदा गर्दा विश्व ब्यापारको लयमा धक्का पुगेको छ । साथै, उत्तर कोरियाको लगातार मिसाइल परीक्षण लगायत क्षेत्रीय भूराजनीतिक तनावले पनि लगानीकर्तालाई सेयर बजार र अन्य व्यापारिक क्षेत्रमा लगानी गर्न निरुत्साहित बनाइरहेको उनको बुझाइ छ ।
तेस्रो कारण हो: अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ आर्थिक नीति । अमेरिकी राष्ट्रपति ट्रम्पले लिएका नयाँ राजनीतिक तथा आर्थिक नीतिले विश्व बजार तरङ्गित बन्दा त्यसको सोझो असर सुनको भाउमा परेको व्यवसायी शाक्य बताउँछन् । विशेष गरी reciprocal tariff अन्तर्गत मेक्सिको क्यानडा, चीन, युरोपियन युनियन, भारत, आसियान राष्ट्रहरु सहितलाई बढाइएको १०० प्रतिशतसम्मको भन्सार वृद्धिले समेत विश्व ब्यापारमै अस्थिरता उत्पन्न गराएको उनको भनाइ छ ।
यस्तै, अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी केन्द्रीय बैंकलाई ब्याजदर घटाउन निरन्तर दबाब दिइरहेका छन् । यसैगरी, उनले सुनमा प्रत्यक्ष कर नलगाउने घोषणा गरेका छन् । यसकारण अमेरिकी नागरिक पनि सुनमा लगानी गर्न हौसिएका छन् ।
चौथो कारण: शक्ति राष्ट्रका केन्द्रीय बैंकहरुले बढाइरहेको सुनको भण्डारण । वल्र्ड गोल्ड काउन्सिलका अनुसार सन् २०२४ मा मात्रै विश्वका केन्द्रीय बैंकहरुले १०४५ टन सुन किनेका छन् । ति देशहरुले विगत केही वर्षदेखि लगातार रुपमा सुनको खरिद बढाइरहेका छन् । हरेक वर्ष शक्ति राष्ट्रका सेन्ट्रल बैंकहरुले १००० टन हाराहारी सुन खरिद गर्दै संचिति बढाइ रहेको र यसले पनि सुनको माग बढाउन र भाउ उकास्न सहयोग गरिरहेको वरिष्ठ उपाध्यक्ष शाक्य बताउँछन् ।
पाँचौ कारण हो: ब्रिक्स राष्ट्रहरुको चुनौती । चीन, भारत, रसिया, ब्राजिल, दक्षिण अफ्रिका लगायतका ब्रिक्समा आवद्ध देशहरू अन्तर्राष्ट्रिय ब्यापारमा डलरको एकाधिकार तोड्न चाहिरहेका छन् । यसको विकल्पमा उनीहरुले छुट्टै मुद्राको अवधारणासमेत अघि सारिरहेका छन् । ब्रिक्समा आवद्ध देशहरूले विश्व व्यापारमा डलरको निर्भरता एवम् एकाधिकार तोड्न सक्रियता बढाइरहेका कारण भविष्यमा डलर थप कमजोर बन्न सक्ने देखिएको छ । यसका लागि पनि पर्याप्त सुनको खाँचो पर्ने भएकाले अहिले नै ब्रिक्समा आवद्ध चीन, भारत, रसिया लगायतका देशहरुका केन्द्रीय बैंकहरूले अत्याधिक मात्रामा सुनको सन्चिति बढाउँदै लगेका छन् ।
यसैगरी, चीनले आफ्नो देशका बीमा कम्पनीहरूलाई कुल व्यवसायको १ प्रतिशतसम्म सुनमा लगानी गर्न सक्ने नयाँ नीति लिएको छ । व्यवसायी शाक्यका अनुसार यस सिजनको सुरुमै २०० अर्ब युआन बराबरको सुनको माग वृद्धि हुने देखिएको छ । यसले पनि सुनको माग बढाएको छ र मूल्य बढाउन मद्दत गरेको छ ।
अहिले सुनमा लगानी गर्नु कति उचित ?
अन्तर्राष्ट्रिय रुपमा समेत हेर्दा सुनमा गरिएका लगानीलाई ‘कम रिक्स’ अर्थात कम जोखिमपूर्ण मानिन्छ । सेयर बजार, रियल इस्टेट, उत्पादनमूलक क्षेत्र, पारवहन जस्ता व्यवसायमा प्रत्यक्ष असर पार्ने गतिविधि हुनासाथ लगानीकर्ताहरु सुनमा लगानी गर्न थाल्दछन् ।
व्यवसायी शाक्यका अनुसार केही समययता सुन तथा चाँदीको मूल्य बढ्दै गएपनि नेपाली बजारमा सुनमा लगानी गर्न अझै समय छ । छोटो अवधिमा मूल्यमा उतारचढाव देखिएपनि दीर्घकालीन रूपमा सुन–चाँदीले स्थिर र उचित प्रतिफल दिने भएकाले सुनमा लगानी गर्नु उचित नै हुने उनको सुझाव छ ।
‘अन्तर्राष्ट्रिय लगानी सिद्धान्तले पनि कुनै एकल क्षेत्रमा सारा पूँजी केन्द्रित गर्नुभन्दा विविधिकृत लगानीमा जोड दिएको पाइन्छ’ उनी भन्छन्, ‘प्राय: विज्ञहरूले सुन–चाँदीमा कुल लगानीको ५ देखि १० प्रतिशत सम्मको हिस्सा सुरक्षित रूपमा राख्न सुझाव दिने गर्छन् ।’
साथै, नेपालको सन्दर्भमा सुन–चाँदीको मूल्य घट्ने जोखिम अन्तर्राष्ट्रिय बजारको तुलनामा तुलनात्मक रूपमा कम हुने भएकाले कुल लगानीको १० देखि २० प्रतिशतसम्म सुन–चाँदीमा लगानी गर्नु सुरक्षित र व्यवहारिक मानिने शाक्यको भनाइ छ ।