चार वटा शिर्ष दलले आगामी चुनावको लागि घोषणापत्र सार्वजनिक गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
यी मध्ये नेकपाबाहेकका अन्य ३ दलले आज नै घोषणापत्र सार्वजनिक गरेका हुन् । नेपाली कांग्रेसले आफ्नो घोषणापत्रलाई प्रतिज्ञापत्र नाम दिएको छ भने रास्वपाले वाचापत्र नाम दिएको छ। अन्य दुई दलले भने घोषणापत्र नै नाम दिएका छन् ।
यी सबै दलले आफ्नो घोषणापत्रमा पुँजीबजारका विषय समावेश गरेका छन् । जस मध्ये नेपाली कांग्रेस र रास्वपाले पुँजीबजारको लागि विस्तृत योजना समावेश गरेका छन् । एमालेले पुँजीबजार बारे थोरै विषय समावेश गरेको छ भने नेकपाले पुँजीबजारको सम्बन्धमा आफ्नो घोषणापत्रमा एक लाइनमात्र उल्लेख गरेको छ ।
घोषणापत्रमा एमालेले पुँजीबजारबारे के भन्यो ?
पार्टीले सार्वजनिक गरेको घोषणापत्रको २० नम्बर बुँदामा वित्तीय प्रणालीबारे उल्लेख छ । जसमा एमालेले पूँजी बजारको प्रभावकारी नियमन, सुधार तथा विस्तार गरी लगानीका लागि स्वपूँजी र दीर्घकालीन ऋण परिचालन गर्ने भनेको छ। त्यस्तै शेयर लगानीकर्ताको हित संरक्षण गर्ने उल्लेख गरेको छ। सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष लगायतका सम्झौतित बचत परिचालन गर्ने संस्थाको प्रभावकारी नियमन गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ ।
त्यस्तै वित्तीय सेवालाई पूर्ण डिजिटल बनाउने, डिजिटल मुद्रा सञ्चालनमा ल्याउने , वित्तीय प्रणालीमा साइबर अपराध नियन्त्रण गर्ने, नियोजितरूपमा ऋण नतिर्ने प्रवृत्तिलाई रोक्ने, तथा सानोतिनो ऋणको आवश्यकता वित्तीय प्रणालीमार्फत् उपलब्ध गराई मिटरव्याजी समस्या हल गर्ने विषय एमालेले घोषणापत्रमा समेटेको छ ।
यसको अलावा हाईब्रिड एन्यूटी, व्लेण्डेड तथा भेञ्चर क्यापिटल, क्राउड फण्डिङ्ग, प्राइभेट इक्विटी, डायस्फोरा वण्ड, हरित वण्ड, जलवायु वित्तलगायतका वैकल्पिक वित्तको प्रबन्ध गरी उच्च आर्थिक बृद्धिका लागि पूँजी लगानीको आवश्यकता पुरा गर्ने विषय पनि एमालेले घोषणापत्रमा राखेको छ ।
त्यस्तै एमालेले घोषणापत्रमा वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणको उत्पादनशील क्षेत्रमा उपयोग गर्न व्यवसायिक कृषि, साना मझौला उद्योग व्यवसाय तथा शेयर बजारमा लगानीका अवसर सिर्जना गर्नेछौं । विदेशी मुद्रा सञ्चिति उच्च प्रतिफल प्राप्त हुनेगरी सुरक्षित र लाभप्रद लगानी गर्ने उल्लेख गरेको छ।
प्रतिज्ञापत्रमा कांग्रेसले पुँजीबजारबारे के भन्यो ?
सार्वजनिक गरिएको प्रतिज्ञापत्रको ३ नम्बरमा उद्यमशीलता, पूँजी बजार र वित्तीय पहुँचबारे उल्लेख छ। जसमा कांग्रेसले वैदेशिक रोजगारीमा रहेका नेपाली, गैरआवासीय नेपाली र आम नागरिकलाई मोबाइल एपमार्फत पूँजी बजारमा सहजै जोड्ने नीति कार्यान्वयन गर्ने भनेको छ। त्यस्तै भित्री कारोबार (Insider Trading) र अस्वाभाविक चलखेल रोक्न अत्याधुनिक निगरानी प्रणाली लागु गर्दै साना लगानीकर्ताको हितका लागि ‘लगानीकर्ता संरक्षण कोष’ लाई प्रभावकारी बनाउँने उल्लेख गरेको छ।
साना तथा मझौला उद्योगका लागि छुट्टै ‘SME Platform’ विकास गरी बजारबाट पूँजी जुटाउन सक्षम बनाउँने विषय पनि कांग्रेसले प्रतिज्ञापत्रमा समेटेको छ । धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त बनाउँदै नेप्से र सिडिएससीको संरचनागत सुधार गरी राफसाफ प्रणालीलाई विश्वस्तरीय बनाउँने प्रतिज्ञा कांग्रेसले गरेको छ ।
युवा उद्यमीहरूका लागि क्राउड फन्डिङ्ग (Crowd Funding ) र भेन्चर क्यापिटल जस्ता वैकल्पिक वित्तीय उपकरणहरूको स्पष्ट कानुनी व्यवस्था गरी लगानी सुनिश्चित गर्ने भनेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली, गैरआवासीय नेपाली र आम नागरिकलाई मोबाइल एपमार्फत पूँजी बजारमा सहजै जोड्ने नीति कार्यान्वयन गर्ने भनेको छ। भित्री कारोबार (Insider Trading) र अस्वाभाविक चलखेल रोक्न अत्याधुनिक निगरानी प्रणाली लागु गर्दै साना लगानीकर्ताको हितका लागि ‘लगानीकर्ता संरक्षण कोष’ लाई प्रभावकारी बनाउने भनेको छ। साना तथा मझौला उद्योगका लागि छुट्टै ‘SME Platform’ विकास गरी बजारबाट पूँजी जुटाउन सक्षम बनाउँने भनेको छ। धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त बनाउँदै नेप्से र सिडिएससीको संरचनागत सुधार गरी राफसाफ प्रणालीलाई विश्वस्तरीय बनाउँने भनेको छ ।
सहकारी र वित्तीय क्षेत्रका सबै प्रकारका ठगी रोक्न सशक्त ‘इन्टेलिजेन्स युनिट’ स्थापना गरी बचतकर्ताको रकम सुरक्षित पार्ने भनेको छ। विद्यालय तहदेखि नै शेयर बजार र वित्तीय व्यवस्थापन सम्बन्धी शिक्षालाई पाठ्यक्रममा समावेश गरी धितोपत्र बजारलाई देशव्यापी विस्तार गर्ने भनेको छ।
रास्वपाले वाचापत्रमा शेयरबजारबारे के भन्यो ?
पार्टीले आफ्नो वाचापत्रमा पुँजीबजारलाई पनि विशेष प्राथमिकता दिएको छ । जसमा पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्ने भनिएको छ। धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्दै पर्याप्त जनशक्ति, कार्यक्षमता अभिवृद्धि तथा आवश्यक स्वायत्तता दिने उल्लेख छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पुनःसंरचना गरी निजी क्षेत्रको सेयर सहभागिता बढाउने र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने भनिएको छ । पूँजी बजारको तरलता, पारदर्शिता र जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि गर्न, स्पष्ट कानूनी संरचना र कडा नियमनसहित इन्ट्राडे कारोबार, शर्ट सेलिङ तथा फ्युचर्स, अप्सनलगायत डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गरी नेप्सेलाई अन्तरराष्ट्रिय स्तरको बनाउने भनिएको छ । इनसाइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलताको नीति लागू गर्ने उल्लेख छ । आइपीओ प्रणालीमा आमूल सुधार गरी निष्पक्ष बाँडफाँड, बुक बिल्डिङ सुधार र समयमै सूचीकरण गर्ने व्यवस्था मिलाउने वाचापत्रमा भनिएको छ।
वाचापत्रमा भनिएको छ ‘संस्थागत लगानीकर्ताको विस्तार गर्न पेन्सन फन्ड, बीमा, म्युचुअल फन्ड, आदि संस्थाहरूलाई सक्रिय लगानी गर्न प्रोत्साहन र सहजीकरण गर्नेछौं । पूँजी बजार कर नीति स्थिर र लगानीमैत्री हुनेछन् भने ऋण बजार र बन्ड बजारको विकास गर्न सरकारी, स्थानीय तह तथा निजी क्षेत्रका बन्डलाई सक्रिय बनाइ पूर्वाधार विकासका लागि इन्फ्रास्ट्रक्चर बन्ड तथा दीर्घकालीन परियोजनामा पूँजी जुटाउने वैकल्पिक साधनको विकास गर्नेछौं । वर्षौंदेखि रोकिएको गैर-आवासीय नेपालीलाई नेप्सेमा कारोबार गर्न सहज तर्जुमा गर्नेछौं । वस्तु विनिमय बजार यथाशीघ्र सञ्चालनमा ल्याउनेछौं र त्यसका लागि पब्लिक वेयरहाउजिङ ऐन जारी गर्नेछौं । विभिन्न किसिमका फण्ड, डेरिभेटिभ बजार तथा जोखिम व्यवस्थापन उपकरणहरूको विकास गरी पूँजीबजारलाई आधुनिक र विविधीकृत बनाउनेछौं । साना लगानीकर्ताहरूको हित रक्षाका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्नुका साथै सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको पारदर्शिता र सुशासन सुनिश्चित गर्न स्वचालित रिपोर्टिङ प्रणाली’ अनिवार्य गर्नेछौं । पुँजी बजारलाई केवल काठमाडौं केन्द्रित नबनाई डिजिटल माध्यमबाट देशैभरका नागरिक र युवा पुस्ताको सहज पहुँच पुयाउँदै यसलाई देशको अर्थतन्त्रको वास्तविक ऐना र पूँजी निर्माणको प्रमुख आधारका रूपमा विकास गर्नेछौं ।’
नेकपाले घोषणापत्रमा पुँजीबजारबारे के भन्यो ?
नेकपाले आफ्नो घोषणापत्रमा पुँजीबजारमा एक लाइन मात्र लेखेको छ, जसमा भनिएको छ ‘पुँजी बजारमा सर्वसाधारणको पहुँच र सहभागिता बढाउने ‘ ।
यो पनि : पुँजीबजारबारे एमालेले घोषणापत्रमा के भन्यो ?
रास्वपाको वाचापत्र : नेप्सेलाई अन्तरराष्ट्रिय स्तरको बनाउने, आइपीओ बाँडफाँड निष्पक्ष गर्ने
शेयरबजारबारे कांग्रेसको प्रतिज्ञा: एनआरएनलाई सहजै जोड्ने, अस्वाभाविक चलखेल रोक्ने












