निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ । आयोगका अनुसार २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषयमा आधारित भएर एक मिनेटसम्म अवधिको भिडियो बनाउनु पर्ने छ ।
उक्त टिकटक भिडियो बनाई आफ्नो टिकटक, फेसबुक तथा युट्युब एकाउन्ट ( च्यानल ) मा राख्नु पर्ने र २०८२ फागुन ३ गतेदेखि १७ गतेसम्म आयोगको इमेल ठेगाना [email protected] मा पठाउनु पर्ने छ । आयोगमा प्राप्त भएका भिडियोहरूमध्ये सबैभन्दा बढी भ्युअर्स भएका उत्कृष्ट तीन वटा भिडियोलाई आयोगको तर्फबाट क्रमशः जनही नगद रु. ५०,०००।- ३०,०००।- र २०,०००/- हजारका दरले पुरस्कृत गरी प्रमाणपत्र समेत प्रदान गरिने आयोगले जनाएको छ ।
आयोगले नगद पुरस्कार दिनको लागि निम्न शर्त तोकेको छ:
१. टिकटक भिडियो प्रतिनिधि सभा सदस्य निर्वाचन, २०५२ को परिवेशमा तयार गर्नुपर्नेछ ।
२. भिडियो संवादमूलक एवं सन्देशमूलक हुनुपर्नेछ । आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइनेछ ।
३. निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्त्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारी जस्ता छुट्टाछुट्टै विषयवस्तुमा आधारित भएर भिडियो बनाउन सकिनेछ।
४. कुनै एक व्यक्तिले एउटा विषयमा एउटा भिडियो पठाउन सकिनेछ । साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर भिडियो निर्माण गर्न सकिनेछ ।
५. यसरी प्राप्त भएका भिडियोहरूमा आयोगको अधिकार रहनेछ । भिडियो सन्देशलाई आयोगले आफ्ना सामाजिक सञ्जालबाट प्रसारण गर्न सक्नेछ ।
६. तोकिएका शर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियोहरू स्वीकार गरिनेछैन ।
७. उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगबाट हुनेछ ।












