एक्सन एडको सोसियल बिजेनश कन्सल्ट्यान्ट सिमोन कोर्डोलियानी हेराल्ट नेपालका बजारमा घुमफिर गर्दा समान्य टेक्सटायलका वस्तु पनि विदेशबाट आयात भएर बिक्री भइरहेको देख्थिन् । ब्याग, पर्स, टेवल कभर, होम डेकोरहरु गृहिणी महिलाले उत्पादन गर्न सक्ने भएपनि ति सामानहरु भारत र चीनबाट आयात भएको पाउँथिन् उनी ।
त्यसपछि सिमोनले मार्केट अध्ययन गरिन् । बजारको अध्ययन सकेपछि उनले ‘सोसियल इन्टरप्राइज’को रुपमा काम गर्न सकिने निष्कर्ष मात्रै निकालिन्, आफू डिजाइनर पनि भएकाले नेपाली कच्चापदार्थ प्रयोग गरेर स्तरीय उत्पादन निकाल्न सकिने खाका पनि बनाइन् । यसपछि एक्सन एडको सहयोगमा सञ्चालन हुने गरी गैर नाफामूलक संस्था र महिला नेतृत्वको सामाजिक व्यवसायको रूपमा ‘HerCraft Nepal’को सुरुवात भयो । यसले नेपाली मौलिकता र यहाँको शिल्प कौशललाई प्रवर्द्धन गर्ने उदेश्य बोकेको छ ।
…अनि सुरु भयो तालिम
समान्य सीप भएका तर, अवसर नपाएका महिलाहरुलाई HerCraft Nepal ले तालिमको आह्वान गर्यो । यसअघि सामान्य तालिम लिएका तर काम नपाएका र थोर–थोरै अर्डर आउँदा सामान बनाउने तर, व्यवसायिक रुपमा अघि बढ्न नसकेका महिलाहरु तालिममा जोडिए । HerCraft Nepal की Social Enterprise Develpment Officer शिवानी सिंहका अनुसार यसरी जोडिएका दिदी–बहिनीहरुलाई सुरुमा डेढ महिनाको तालिम दिइयो ।
कलर कसरी मिलाउने, स्तरीय डिजाइन कसरी निकाल्ने, आफूले उत्पादन गरेको वस्तुको मूल्य कसरी तोक्ने लगायतका विषयमा सिमोनले तालिम दिइन् । २ सय भन्दा बढी डिजाइन तयार पारेर सहभागी महिलाहरुलाई सिकाउन उनी हरबखत खटिइन् ।
‘गाँजा र अल्लोबाट बनेका नेचुरल कपडा ल्याउँछौँ, तेह्रथुम र संखुवासभा कपडा आउँछ । अन्य जिल्लाबाट पनि आवश्यकता अनुसार कपडा ल्याएर सिकाइन्छ’ शिवानीले भनिन्, ‘केरा र बाँसका कपडा पनि खोजी गरिरहेका छौँ ।’
अहिले दोस्रो चरणको तालिम चलिरहेको छ । कलर म्याचिङ, फिनिसिङ, प्राइसिङ जस्ता कुराहरु अहिले सहभागीलाई सिकाइँदैछ । अर्को कुरा, तालिममा सहभागीलाई यातायात खर्च समेत एक्सन एडले नै दिँदै आएको छ । ‘कुनैपनि सीप बिना लगानी सिक्न पाइँदैन, तर एक्सन एडले महिला सशक्तिकरणका लागि सुरु गरेको प्रोजेक्ट भएकाले सहभागी दिदी बहिनीहरुलाई यातायात खर्च पनि दिन्छौँ । सँगै सीप पनि सिकाउँछौँ’ शिवानीले थपिन् ।

सिमोनका अनुसार अहिले सहभागीहरु धेरै कुरा बनाउन जान्ने भइसकेका छन् । ‘हामीले महिलाको हातमा पैसा पुगोस्, उनीहरुले सीप सिकेर आफैँ काम गर्न सकून् भनेर मात्रै यो प्रोजेक्ट सुरु गरेका होइनौँ’ सिमोन भन्छिन्, ‘उनीहरुले सिकेको सीपबाट परिवार र सिङ्गो समुदायले लाभ प्राप्त गर्न सकोस् भन्ने हाम्रो लक्ष्य छ ।’ उनका अनुसार नेपाली कपडा र प्राकृतिक रेशाबाट प्रिमियम उत्पादनहरू सिर्जना गर्ने सामाजिक व्यवसायिकता र उद्यमशीलता प्रवद्र्धन गर्ने दीर्घकालिन लक्ष्यमा एक्सन एड नेपाली महिलाहरुको साथमा छ । यसबाट महिलाहरु आत्मनिर्भर मात्रै नभई आर्थिक र सामाजिक रुपमा समेत सशक्त बन्न सक्ने अपेक्षा गरिएको छ ।
यति मात्रै होइन, अहिले तालिम प्राप्त गरिरहेका महिलाहरुबाटै नयाँ नयाँ टिमको विकास गर्ने योजना पनि HerCraft Nepal ले बनाएको छ । यसका लागि अहिले सहभागी भएकाहरुलाई आफ्ना आफन्त र साथी सङ्गीहरुलाई सहभागी गराउन भनिएको छ ।
के भन्छन् सहभागी ?
चन्द्र रोका लिम्बु पहिला साधारण सिलाईको काम गर्थिन् । नेपाली कपडाबाट नयाँ नयाँ उत्पादन बनाउन सकिन्छ भन्ने उनलाई यसअघि थाहा नै थिएन । ‘मैले यहाँ आउनुभन्दा अगाडि नदेखेका कुराहरु अहिले आफैँले बनाउन सक्ने भएको छु’ उनी भन्छिन्, ‘नेचुरुल कलरका कुराहरु हामीले बुझेकै थिएनौँ । अहिले सिक्न पाउँदा निकै खुशी छु ।’
उनले नेपाली कपडाबाट ब्याग, पर्स, टेवल कभरहरु बनाउन सक्दा राम्रो मूल्य आउँदो रहेछ भन्ने जानकारी पनि यहीँ आएपछि थाहा पाएकी हुन् । त्यसैले चन्द्र रोका लिम्बुको आत्मविश्वास अहिले बढेको छ । उनले आफन्त र साथीहरुलाई समेत यो तालिम लिन प्रोत्साहन गरिरहेकी छिन् ।
मनोहरा भक्तपुरबाट आउने यमुना श्रेष्ठ ८ महिनाको बच्चा लिएर तालिम लिन आएकी हुन् । उनले तालिम लिँदा HerCraft Nepal ले नै उनको बच्चा हेर्ने मान्छे पनि राखिदियो । ‘म तालिम लिन इच्छुक थिएँ, तर साढे ८ महिनाको बच्चा थियो । उहाँहरुले नै मान्छे राखेर बच्चाको हेरचाह गरिदिनु भयो । यो सुविधा नदिएको भए सायद मैले सीप सिक्न पाउने थिइँन होला’ यमुना भन्छिन्, ‘पहिला हामी काम चलाउने हिसाबले मात्रै काम गथ्र्यौँ । तर यहाँ आएपछि फिनिसिङमा राम्रो ज्ञान भएको छ । मूल्य पनि थाहा पाएका छौँ । फ्रान्सदेखि सिमोन म्याम आएर सिकाउनु भएको छ । भविष्यमा यहीँ क्षेत्रमा केही गर्न सक्छु भन्ने आत्मविश्वास पलाएको छ ।’

उनका अनुसार सामान्य सिलाई कटाईको काम गर्ने नेपाली दिदीबहिनीहरु स–साना कपडाका टुक्रा त्यसै खेर फाल्ने गर्छन् । तर, ति कपडाका टुक्राबाट पनि राम्रा डिजाइनहरु बनाउन सकिने रहेछ भन्ने कुरा उनले अहिले बुझेकी र सिकेकी छिन् । साथै, उत्पादन तयार पार्ने क्रममा मेशिनमा बस्दा पनि सरसफाईमा कसरी ध्यान दिने भन्ने पनि अहिले सिकाइ भएको छ उनलाई ।
अर्की सहभागी कान्छी रोका तामाङ करिब २ दशकदेखि सिलाई सम्बन्धि काम गर्थिन् । तर, केही वर्ष अगाडि उनको ढाडको नशा च्यापियो, त्यसपछि मेशिनमा बस्न भएन । केही वर्षको आराम पछि उनले अहिले यो तालिम लिइन् । ‘प्रोडक्टको फिनिसिङ मात्रै होइन, कटिङ र मेटलसम्म धेरै कुरा थाहा पाइयो’ कान्छी भन्छिन्, ‘नदेखेका कुराहरु देख्न र सिक्न पाएका छौँ । ढाडको समस्याले गर्दा म मेशिनमै बसेर काम गर्न नसकेपनि अब ट्रेनरका रुपमा काम गर्न सक्ने भएकी छु ।’
उनले नेपाली कपडाबाट बनाइएका सामान नेपाल घुम्न आउने विदेशीले किन्दा र विदेशमा समेत निकासी गर्न सक्दा टोल र गाउँ मात्रै नभई सिङ्गो देशलाई समेत योगदान पुग्ने भएकाले महिला दिदीबहिनी र युवतीहरुलाई यस खालको तालिम लिन अनुरोध पनि गरिन् ।
बजारीकरणमा पनि सघाउने
HerCraft Nepal ले तालिमा मात्रै होइन, तालिम प्राप्त गरेपछि उनीहरुले उत्पादन गर्ने वस्तुको बजारीकरणमा पनि सहयोग गर्नेछ । युरोपियन युनियनले ३१ जनवरीमा आयोजना गरेको कार्यक्रममा HerCraft Nepal का उत्पादन प्रदर्शनी भइसके । भविष्यमा पनि विभिन्न फोरमहरुमा प्रदर्शनी गरेर बजारीकरणमा सहयोग गर्नेछ । केही दिनमै द्वारिका होटलमा पनि यस्तै कार्यक्रम हुँदैछ ।













