निजी क्षेत्रको रि–इन्स्योरेन्स कम्पनी हिमालयन रि–इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले कमाएको यो नाफा अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा करिब दोब्बर हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद प्रिमियम आम्दानी ८२ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९/०८० मा खुद प्रिमियम आम्दानी २ अर्ब ९८ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष २०८०/०८१ मा ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।
प्रिमियमसहित कुल आम्दानी गत आर्थिक वर्षमा ६ अर्ब ६२ करोड छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६७ प्रतिशत बढी हो ।
कम्पनीको कुल खर्च पनि ५५ प्रतिशतले बढेर ४ अर्ब ७९ करोड पुगेको छ ।
नाफा बढेपछि यस कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिशेयर आम्दानी ९.२८ रुपैयाँ रहेकोमा अहिले १२.३४ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ छ ।
दोस्रो बजारमा मंगलबारको कारोबारमा यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ पुगेको छ ।