अब आइतबारको साटो शुक्रबार शेयरबजार खुल्ने भएको छ। सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन शनिवार र आइतबार सर्वजनिक विदा दिने निर्णय गरेसंगै अब आइतबारको साटो शुक्रबार शेयर कारोबार हुने भएको हो।
नेप्सेले आज एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । नेप्सेको चैत्र २२ गते बसेको संचालक समितिको बैठकले शुक्रबार पनि बजार खोल्ने निर्णय गरेको हो। शुक्रबार पनि बिहान ११ बजेदेखि दिउँसो बजेसम्म शेयर कारोबार हुने छ।
नेप्सेले जारी गरेको सूचनामा भनिएको छ ‘उपरोक्त सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८२ चैत्र २२ मा बसेको बैठकले २०८२ चैत्र २३ गतेदेखि लागु हुने गरी बिहान ९:०० बजे देखी साँझ ५:०० बजेसम्म कार्यालय समय कायम गर्ने, साताको शनिबार र आईतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हुँदा सोही अनुरुप नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको मिति २०८२।१२।२२ गतेको सञ्चालक समितिको निर्णय बमोजिम सोमबारदेखि शुक्रबारसम्म साबिक समयमा धितोपत्रको कारोबार हुने व्यहोरा सम्पूर्ण सरोकारवालालाई जानकारी गराउन यो सूचना सार्वजनिक गरिएको छ ।’
पेट्रोलियम पदार्थको आपूर्ति असहज हुँदै गएपछि सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो। जस अनुसार सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा शनिवार र आइतबार विदा हुनेछ छ। अन्य कार्य दिनमा भने सबै सरकारी कार्यालयहरु ९ बजेदेखि ५ बजेसम्म संचालन हुने छन् ।
यस अघि २०७९ सालमा पनि सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन अहिलेको जस्तै शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो। त्यस समय पनि आइतबारको साटो शुक्रबार शेयर कारोबार गरिएको थियो। तर परिक्षणको कालको दुई दिन विदा दिइएकोले सो निर्णय एक महिना मै उल्टियो । सो एक महिनाको अवधिमा शुक्रबार शेयर कारोबार गरिएको थियो।
अहिले पनि त्यसैगरि शुक्रबार शेयर कारोबार हुन लागेको हो । हाल शेयरबजार समबन्धि विभिन्न नियमावली र विनियमावलीमा शेयरकारोबार आइतबारदेखि बिहीबार हुने उल्लेख छ। मन्त्रिपरिषद बैठकबाट नै निर्णय भएकोले ति नियमावली र विनियमावलीका व्यवस्था संशोधन नै नगरी शुक्रबार शेयर कारोबार संचालन गर्न लागिएको हो। मन्त्रिपरिषद बैठकबाट नै निर्णय भएकोले ति नियमावली र विनियमावलीका व्यवस्था संशोधन गर्नु नपर्ने नेप्सेले जनाएको छ।













