शेयरबजारमा दोस्रो पोजेटिभ सर्किट लागेको छ । पहिलो सर्किट ब्रेकपछि बजार ११ बजेर २१ मिनेटमा खुलेकोमा त्यसको १ मिनेट पनि नबित्दै बजार ५ प्रतिशतले बढेपछि दोस्रो पोजेटिभ सर्किट लागेको हो। अब शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको छ ।
आज प्रि ओपन सेसन मै नेप्से सूचक ४४.६३ अंकले बढेको थियो। त्यसपछि ११ बजे नियमित समयको बजार खुलेकोमा ११ बजेट १ मिनेट मै नेप्से ४ प्रतिशत (१०९.६० अंक)ले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो। त्यस पछि २० मिनेटलाई कारोबार स्थगित भएर ११:२१ मा बजार खुलेकोमा एक मिनेट पनि नपुग्दै बजार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो। दोस्रो सर्किट लाग्दा बजार १३५.७२ अंकले बढेको छ। अब ४० मिनेटलाई कारोबार स्थगित हुने छ ।
बजार सुरु भएको पहिलो घण्टा भित्रमा शेयर बजार ४ प्रतिशतले घटबढ भएमा २० मिनेट सर्किट ब्रेक लाग्ने व्यवस्था छ । दोस्रो घण्टा भित्रमा ५ प्रतिशतले घटबढ भएमा ४० मिनेट सर्किट ब्रेक लाग्ने व्यवस्था छ। सोहि अनुसार अहिले दोस्रो सर्किट ब्रेक लागेको हो । अब तेस्रो घण्टा भित्र ६ प्रतिशतले घटबढ भएमा पुरै दिनको लागि कारोबार बन्द हुने व्यवस्था छ।
चुनावको नतिजापछि शेयर लगानीकर्ता उत्साहित देखिएका छन् । चुनावको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमतको सरकार बनाउने देखिएको छ। अबको प्रधानमन्त्रीमा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह हुने छन् भने अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले रहने भनिएको छ।
कम्तिमा ५ वर्ष एउटै पार्टीको सरकार बन्ने भएपछि लगानीकर्ता उत्साहित देखिएका हुन्।













