साताको अन्तिम दिन आज बिहीबार शेयरबजार परिसूचक नेप्से ३४.२२ अंकले बढेको छ। आजको वृद्धिपछि नेप्से सूचक २६००.३८ को बिन्दुमा पुगेको छ।
आज कारोबारमा आएका ३१९ कम्पनीका २ करोड ६० लाख १० हजार ७ सय १८ कित्ता शेयर खरिद बिक्रीबाट ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४ सय ७३ रुपैयाँ ४५ पैसाको कारोबार भएको छ। जस मध्ये हिमालयन बैंकको संस्थापक शेयरको सर्वाधिक १ अर्ब ६६ करोडको कारोबार भएको छ । यो हबिब बैंकले आफ्नो नाममा रहेको शेयर नेशनल लाइफ इन्स्योरेन्सलाई बिक्री गरेको हो। त्यस्तै आज राधि विद्युत कम्पनीको ३७ करोड ६० लाखको कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने सुपर मादी हाइड्रोको शेयर मूल्य ९.५४ प्रतिशत तथा गणपति लघुवित्तको शेयर मूल्य ९.४६ प्रतिशतले बढेको छ। आज एनआईबिएल स्टेबल फण्डको शेयर मूल्य ५.७० प्रतिशत, सानिमा ग्रोथ फण्डको शेयर मूल्य ५.२४ प्रतिशत तथा आशा लघुवित्तको शेयर मूल्य ४.७९ प्रतिशत घटेको छ।
आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् । जस मध्ये हाइड्रो समूह सर्वाधिक २.६७ प्रतिशत बढेको छ।











