पियोर इनर्जी लिमिटेडले शेयर डिम्याट गराउनको लागि सिडीएससीमा निवेदन दिएको छ । कम्पनीले वैशाख २१ गते शेयर डिम्याटका लागि निवेदन दर्ता गराएको हो ।
यस संगै कम्पनीको शेयर डिम्याट हुने प्रक्रियामा रहेको सिडीएसले जनाएको छ। शेयर डिम्याट गर्ने कार्य सकिएपछि सिडीएसले शेयर पर्नेहरुको डिम्याट खाता शेयर पठाउने छ। त्यसपछि नेप्सेमा शेयर सूचीकृत भएपछि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार सुचारु हुने छ।
कम्पनीले निष्काशन गरेको आईपीओ गत वैशाख ११ गते बाँडफाँड भएको थियो। सो आईपीओमा १८ लाख ५४ हजार ४ सय ९७ जनाले आवेदन दिएका थिए । जस मध्ये १८ लाख ४६ हजार ६ सय ६४ जनाको आवेदन मात्र योग्य भएका थिए। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर निष्काशन गरिएको थियो। जसमा १ लाख १९ हजार ५ सय २० जनाले मात्र शेयर पाएका थिए। उनीहरुले १० कित्ताको दरले शेयर पाएका थिए। बाँकि आवेदक भने हात खाली भएका थिए ।
कम्पनीले चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो । नेपाल धितोपत्र बोर्डले कम्पनीले गत फागुन २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।
पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।