स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।
उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयरहरू प्रति शेयर मूल्य रु.१०० को दरमा सर्वसाधारणहरूमा निष्कासन गर्न लागेको हो।
यो कम्पनी २०७९ पुष १४ गते दर्ता भई २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी देशका विभिन्न स्थानहरूमार्फत लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ । न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई निर्जीवन लघु बीमा सेवा पुर्याउने लक्ष्य लिईएको कम्पनीले जनाएको छ ।