पाल्पा सिमेन्ट इण्डष्ट्रीजले निष्काशन गरेको आईपीओमा बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म आम सर्वसाधारणलाई ४५ लाख कित्ता शेयर निष्काशन गरेको थियो। नबिल इन्भेष्टमेन्टका अनुसार यस निष्काशनमा कुल २४ लाख १३ हजार ५ सय १७ जनाबाट आवेदन परेकोमा २३ लाख ७६ हजार ७ सय ५ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ४ लाख ५० हजार जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् । आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।
नेपाल धितोपत्र बोर्डले पुस ९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले कुल ७५ करोड रुपैयाँको ७५ लाख कित्ता शेयर निष्काशन गरेको हो।
यो कम्पनी सन् २००९ मा स्थापना भएको हो। कम्पनीको फ्याक्ट्री नवलपरासीमा रहेको छ। कम्पनीले तानसेन ब्राण्डमा पीपीसी, ओपीसी र पीएससी सिमेन्टको उत्पादन तथा बिक्री गरिरहेको छ। कम्पनीमा आरएमसी ग्रुपको लगानी छ।













