सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज पुस २३ गते बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित नुवाकोट जिल्लाको दुप्तेश्वर गाउँपालिकाका स्थानीयलाई पुस ९ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले स्थानीयलाई ६ लाख ८९ हजार ६ सय ७५ कित्ता शेयर निष्काशन गरेको छ। यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भईसकेको छ । अब स्थानीयलाई निष्काशन गरिएको शेयर बाँडफाँड भएपछि कम्पनीले आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ।
नेपाल धितोपत्र बोर्डले मङ्सिर २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । यस कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि गत साउन देखि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको छ ।









