विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा पहिलो ७ घण्टामै माग भन्दा दोब्बर बढीको आवेदन परेको छ । कम्पनीले आज असार १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो।
आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ४ लाख ८४ हजार १ सय १९ जना आवेदकबाट ५९ लाख ५९ हजार ६ सय ७० कित्ता शेयरको लागि आवेदन परेको हो। जुन माग गरिएको भन्दा २.०२ गुणा बढी हो। कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयर निष्काशन गरेको हो।
यस निष्काशनमा असार २२ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले यस अघि नै गोरखाका आयोजना प्रभावित स्थानिय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डले वैशाख १६ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । कम्पनीले कुल ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५ सय ९६ कित्ता शेयर निष्काशन गरेको हो।
यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४.५५ मेगावाको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुनबाट विद्युत उत्पादन गरिरहेको छ। हाल कम्पनीमा खग्रेन्द्र न्यौपानेको १४ प्रतिशत, कृष्ण प्रसाद घिमिरेको ८ प्रतिशत, सरोज धितालको ८ प्रतिशत, राजकुमार गुरुङको ७ प्रतिशत, इन्द्र बहादुर ढकालको ५ प्रतिशत, र सुनिल श्रेष्ठको ४ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
विकाश हाइड्रो: समयभन्दा ४ महिना अगावै आयोजना सम्पन्न, यसैवर्ष साढे ५ करोड नाफा प्रक्षेपण