सानिमा बैंक लिमिटेड कोष प्रवर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक/डिपोजिटरी रहि सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डको लाभांश वितरण कार्य स्थगित भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन पछि सो फण्डको लाभांश वितरण कार्य स्थगित भएको हो ।
यस फण्डले आथिक वर्ष २०८०/८१ को लागि १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । लाभांश वितरणको लागि भदौ २६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । तर धितोपत्र बोर्डको भदौ २५ गतेको निर्देशनपछि लाभांश वितरण कार्य स्थगित भएको हो ।
किन स्थगित भयो लाभांश वितरण ?
२०८१ असार मसान्तमा यस फण्डको न्याभ १०.३५ रुपैयाँ थियो । यस न्याभबाट फण्डले अधिकतम ३.५ प्रतिशत लाभांश मात्र वितरण गर्न सक्थ्यो । त्यसमा पनि करको लागि रकम छुट्याउदा लाभांश दर अझ कम हुन्थ्यो । तर फण्डले १० प्रतिशत लाभांश घोषणा गर्यो ।
२०८१ साउनमा फण्डको न्याभ १२.५८ रुपैयाँ थियो । यसबाट भने फण्डले १० प्रतिशत बढी प्रतिफल वितरण गर्न सक्थ्यो । क्षमता भन्दा बढीको लाभांश प्रस्ताव गरेको भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी परेको बताईएको छ ।
त्यसपछि बोर्डले क्यापिटललाई यस सम्बन्धमा के कसो भएको हो भनी सोधेको थियो । क्यापिटलले न्याभ कम भएता पनि रियलाइज्ड गेनको आधारमा १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको जवाफ दिएको थियो ।
यस बारे अहिले कुनै प्रष्ट व्यवस्था नभएको र थप अध्ययन आवश्यक रहेको धितोपत्र बोर्डले भनेको क्यापिटलले जनाएको छ । थप अध्ययन गर्न समय लाग्ने भएकोले अहिले तत्कालको लागि लाभांश वितरण कार्य स्थगित गर्न निर्देशन आएको र सोहि अनुसार लाभांश अहिलेको लागि स्थगित भएको क्यापिटलले जनाएको छ । अहिले तत्कालको लागि मात्र लाभांश स्थगित भएको र धितोपत्र बोर्डको थप निर्देशन अनुसार अर्को सूचना जारी गर्ने क्यापिटलले उल्लेख गरेको छ ।









